माघी मनाउन बुद्ध लामा र सागर आले तनावपूर्ण इराक पुगेपछि…
इर्विल। नेपाल आइडलका विजेता गायक बुद्ध लामा र गायक सागर आलेले इराक आएर माघी मनाएका छन्। नेपाल मगर संघ कुर्दिस्तान इराकले आयोजना गरेको माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रमका लागि उनीहरु कलाकारका रुपमा यहाँ आएका थिए।
‘विश्वभर रहेका सम्पूर्ण मगरहरूको एकता, जातीय पहिचान, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्वर्द्धन आजको आवश्यकता’ भन्ने नारासहित इर्विल शहरको नबरोज हलमा गत शुक्रबारका दिन कार्यक्रमको आयोजना गरिएको थियो।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले प्रायोजन गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी इराकका अध्यक्ष लाल काजी गुरुङ प्रमुख अतिथि रहेका थिए।
करिव १ हजार जना सहभागी रहेको उक्त कार्यक्रममा गायक लामा र आलेले बेजोड प्रस्तुति दिएका थिए ।
उनीहरूको प्रस्तुतिले दर्शक निकै रमाए । गायकद्वय लामा र आलेले प्रस्तुती दिइरहँदा दर्शक स्टेजमै उक्लेर नाचेका थिए ।
अमेरिका र इरानबीच तनाव बढेसँगै इरानले लगातार इराकस्थित अमेरिकी सैनिक बेस क्याम्पमा मिसाइल आक्रमण गरिरहेको थियो। पछिल्लो पटक आक्रमण हुँदा सागर आले दुबईको विमानस्थल पुगेर इराकको फ्लाइटको प्रतिक्षा गरिरहेका थिए भने, लामा काठमाडौंमै थिए। लामा पनि दुबई हुँदै इराक जानको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फ्लाइट कुरिरहेका थिए।
बग्दाद र इर्विलमा मिसाइल आक्रमण भएको खवर सुनेपछि दुवै जना झस्किए। इराक उड्नै लाग्दा आएको यो खवरले निकै डराएको उनीहरु सुनाउँछन्। जोखिम मोलेर उनीहरु इराक नआउने सोच बनाइसकेका थिए। परिवारले र आफन्तले पनि त्यस्तो तनावग्रस्त अवस्थामा इराक नजाऊ फर्केर आउ भन्दै थिए। परिवार र आफन्तको आग्रह मान्दै इराक यात्रा रद्द गर्नै निर्णयमा उनीहरु पुगिसकेका थिए।
सागरका एक आफन्त पर्ने दाइ इराकमै कार्यरत थिए। उनले आफूहरू जोखिम मोलेर इराक आउन नसक्ने कुरा दुबईबाट जानकारी गराए। दाइले उनलाई मिसाइल आक्रमणले इर्विलमा कुनै असर नपरेको र सबै सुरक्षित रहेको सुनाए। दाइले आउनको लागि इराक सुरक्षित रहेको विश्वस्त पारेपछि अन्नत उनीहरु इराक उड्न राजी भएका थिए।
तर, यहाँ आईसकेपछि भने उनीहरुले आफू भित्र भएको सबै डर हराएको डिसी नेपालसँगको कुराकानीमा बताए। ‘इराक नेपालमा सोचेको जस्तो डरलाग्दो देश रहेनछ । सबै शान्त छ । इरान–अमरिका तनावको असर पनि नेपालमा भने जस्तो र समाचारमा आए जस्तो छैन’, गायक लामाले भने।
त्यस्तै गायक सागरले इराक आफूलाई युरोपियन जस्तो मुलुक लागेको बताए। ‘यहाँ मलाई निकै शान्त लाग्यो। यहाँको वातावरण हेर्दा कुनै युरोपियन मुलुक भन्दा कम्ती लागेन। आउने बेलामा डरैडरमा आएको भएपनि यहाँ आएर भने आन्नद र रमाइलो लाग्यो’, उनले सुनाए ।
Facebook Comment