शाही जिम्मेवारी छोड्ने घोषणा गरेका राजकुमार ह्यारी र ब्रिटिस महारानीबीच छलफल हुने

डिसी नेपाल
२७ पुष २०७६ १७:५३

बीबीसी । ब्रिटिस महारानी र राजकुमार ह्यारीले ड्यूक एवम् डचिस अफ ससिक्सको भावी भूमिकाबारे सोमवार छलफल गर्ने भएका छन्।

दरबारका अधिकारीहरूले बीबीसीलाई बताए अनुसार प्रिन्स अफ वेल्स र ड्युक अफ केम्ब्रिज पनि त्यो बैठकमा सहभागी हुने ठानिएको छ।

गत हप्ता ड्यूक र डचिस अफ ससिक्स राजकुमार ह्यारी र मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका थिए। तर सोमवारको छलफलमा के सहमति हुन्छ भन्ने विषय भने पेचिलो छ।

बीबीसीका शाही संवाददाता जोनी डाइमन्डका अनुसार उक्त छलफलले केही दिनभित्रै समाधान खोज्ने महारानीको चाहना अनुरूप राजकुमार ह्यारी र उनकी पत्नी मेगनको राजपरिवारसँगको नयाँ सम्बन्ध परिभाषित गर्ने विषयलाई अर्को चरणमा पुर्‍याउने आशा गरिएको छ।

उनका अनुसार छलफलमा अझै जटिल अवरोध पार गर्नुपर्ने अवस्था छ। राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ड्यूक र डचिस अफ ससिक्सको घोषणा पछि विभिन्न चरणमा भएका बैठक र परामर्श पछि सोमवार छलफल हुन लागेको हो।

राजकुमार ह्यारी र उनकी पत्नीको ब्रिटेनको राजपरिवारमा अब के भूमिका हुन्छ भन्ने विषयमा छलफल चलिरहँदा डचिस अफ ससिक्स मेगन मार्कल क्यानडा गएकी छन्।

ह्यारी र मेगन क्रिस्मसको बिदामा छोरा आर्चीलाई लिएर क्यानडा गएका थिए। त्यहाँबाट स्वदेश फर्किएपछि उनीहरूले अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै त्यस्तो घोषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *