पीडित महिलाको स्वास्थ्य परीक्षण गराउने चिकित्सकलाई पनि अदालतमा हाजिर गराउनू
काठमाडौं। बलात्कार उद्योग अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा अदालतले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बयानका लागि अदालतमा हाजिर गराउन आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतले आइतबार यस्तो आदेश दिएको हो। अदालतका न्यायधीश अम्बरराज पौडेलेको एकल इजलासले सो प्रकरणमा प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका कर्मचारीलाई अदालतमा हाजिर गराउन आदेश दिएको छ। यस्तै बलात्कार उद्योगको घटनाको घटना विवरण कागज गर्नेहरु साक्षीहरुलाई पनि बयानका लागि उपस्थित गराउन आदेश दिएको छ।
संसद सचिवालयकै एक महिला कर्मचारीको कोठमा मदिराको बोतल सहित पुगेका तत्कालीन सभामुख महराले ती महिलालाई बलात्कार गरेको सञ्चार माध्यमहरुबाट खुलासा भएको थियो। त्यसपछि महराले गएको असोज १३ गते पदबाट राजीनामा दिएका थिए। तर, पछि ती महिलाले प्रहरीमा बलात्कार प्रयासमा मुद्दा हालिन् । यद्यपी उनले त्यसअघि सञ्चार माध्यमसँगको भिडियो कुराकानीमा आफूमाथि बलात्कार भएको बताएकी थिइन्।
त्यसपछि प्रहरीले महरालाई सरकारी निवास बालुवाटारबाटै गएको असोज १९ गते पक्राउ गरेको थियो। करिब एक महिना लामो अनुसन्धानपछि प्रहरीले बलात्कार उद्योगको उजुरी जिल्ला अदालतमा दायर गरेको थियो। सोहीमुद्दामा प्रहरीले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। महरा हाल डिल्ली बजार कारागारमा छन्।
Facebook Comment