सुरक्षा सदुढीकरण विषयक वृहत् अन्तरक्रिया

डिसी नेपाल
२८ पुष २०७६ ९:०८

काठमाडौँ। महानगरीय प्रहरीवृत्त बौद्ध, सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा सुरक्षा सुदृढीकरण विषयक अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रम बौद्धमा सम्पन्न भएको छ।

बौद्धस्थित कुशल बैँङ्केट पार्टी प्लालेसमा सो कार्यक्रम पुस २७ गते आइतबारका दिन सम्पन्न भएको हो। कार्यक्रममा बौद्ध र काठमाडौँ उत्तरपूर्वी भेगका विभिन्न संघसंस्थाहरूको व्यापक सहभागिता रहेको थियो। सामुदायिक सेवा समिति बौद्धका अध्यक्ष वीरबहादुर वाइवाको सभापतित्व तथा काठमाडौँ क्षेत्र नं. ३ का सांसद् कृष्णबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएका हो।

कार्यक्रमका विशेष अतिथिहरूमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोख्रेल, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनी, गोकर्णेश्वर नगरपालिकाको प्रमुख सन्तोष चालिसे, कागेश्वर–मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण क्षेत्र, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, सामुदायिक सेवा समितिका संस्थापक अध्यक्ष तथा संरक्षक जयमंगल लामा लगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि सांसद् कृष्णबहादुर राईले बौद्ध र दक्षिणपूर्वी भेगमा विगतमा भन्दा अहिले शान्तिसुरक्षा, अमनचयनमा व्यापक सुधार भएको बताए। यस कार्यको निम्ति सामुदायिक सेवा समिति बौद्ध लगायत अन्य स्थानीय संघसंस्थाले खेलेको भूमिका अनुकरणीय रहेको विचार व्यक्त गरे। साथै, आगामी दिनमा यस्ता कार्यक्रमहरू जनप्रतिनिधिमुलक र प्रतिनिधिमुलक गरी दुई किसिमबाट कार्यपत्रसहित आयोजना गरिनुपर्ने सुझाव दिए।

कार्यक्रममा स्थानीय क्षेत्रका बारेमा समेटेर महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक सुरक्षा केसीले स्वागत मन्तव्य राखेका थिए। त्यस्तै, स्थानीय महिला संघसंस्थाको प्रतिनिधित्व गर्दै महिला समाजको तर्फबाट यशोदा लामा र चेतनशील महिला समूहबाट राधा पोखरेलले मन्तव्य राखेका थिए। साथै, सोे कार्यक्रममा महानगरीय प्रहरीवृत्त, बौद्धबाट सम्पादन गरिएका कार्यक्रम तथा गतिविधिबारेमा जानकारीमुलक स्रव्यदृश्य प्रस्तुती महानगरीय प्रहरीवृत्त, बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले गरेका थिए।

उद्घाटन सत्र र खुल्ला छलफल सत्र गरी दुईचरणमा आयोजित उक्त कार्यक्रममा स्थानीय स्तरमा उब्जिएका समस्यागत प्रश्नका बारेमा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोख्रेलले सम्वोधन गरेका थिए।

कार्यक्रमको समापन गर्दै सामुदायिक सेवा समिति बौद्धका अध्यक्ष वीरबहादुर वाइवाले शान्ति सुरक्षा सुदृढीकरण गर्ने कार्यमा सामुदाय र प्रहरी दुवैको उत्तिकै जिम्मेवारी रहने धारणा राख्दै पर्यटक यस वर्ष २०२० मा आउने स्वदेशी तथा विदेशी पाहुनाहरूलाई समेत आ–आफ्नो क्षेत्रबाट सहयोगकारी भूमिका निर्वाह गर्न स्थानीय संघसंस्थाहरूलाई थप जिम्मेवारी रहेको धारणा राखे। साथै उनले समाजमा घट्न सक्ने अप्रिय घटना चोरी, डकैती, लुटपाटका साथै विभेदपूर्ण व्यवहार, विकृति विसंगति हटाउन हामी बर्दी र बिना बर्दीका नागरिक सदैव सचेत रहनुपर्ने कुरामा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *