३२ वर्अषअघि अमेरिकाले पनि झुक्किएर खसाएको थियो इरानी यात्रुवाहक विमान
काठमाडौं। इरानले ८ जनवरीमा दुर्घटनाग्रस्त युक्रेनी विमान आफ्नो मिसाइलले खसेको शनिबार स्वीकार गरेको छ । इरानले गल्तीवश उक्त विमानमा मिसाइल आक्रमण भएको बताएको छ । यो विमानमा १७६ जना थिए । यतै घटना ३२ वर्ष पहिले ३ जुलाइ १९८८ मा पनि भएको थियो । त्यतिबेला अमेरिकाले गल्तीवश इरानी विमान खसाएको थियो । त्यो घटनामा इरान एयरको फ्लाइट ६५५ मा सवार सबै २९० जनाको मृत्यु भएको थियो ।
गत हप्ता इरानी राष्ट्रपति हसन रुहानीले पनि आफ्नो एक ट्वीटमा फ्लाइट ६५५ को प्रसंग निकालेका थिए । जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ अड्डाको पहिचान भइसकेको र इरानले आक्रमण गरे यी ठाउँलाई निशाना बनाइने चेतावनी दिए त्यसको जवाफमा इरानी राष्ट्रपति रुहानीले यो प्रसंग निकालेका थिए । रुहानीले ट्वीटमा लेखेका थिए – ‘जो ५२ संख्याको कुरा गरिरहेका छन् उनीहरुले २९० संख्या पनि सम्झिनुपर्छ । इरानलाई कहिल्यै धम्की नदिनू ।’
अमेरिकी मिसाइलले खसाइएको इरान एयर फ्लाइट ६५५ मा ६६ बालबालिकासमेत २९० जना थिए । त्यतिबेला पनि अमेरिका र इरानबीच तनाव थियो । तनावको स्थितिमा अमेरिकी जलसेनाले फारसको खाडीमा इरानी यात्रु जहाजमा आक्रमण गरेको थियो । इरानको त्यो विमान बंदर अब्बासबाट उडेर दुबइ जाँदै थियो । आक्रमणपछि अमेरिकी जलसेनाले गल्तीवश आफूहरुले यात्रु जहाजलाई एफ–१४ फाइटर जेट सम्झिएको बताएको थियो । जलसेनाले इरानी विमान निकै तल उडेको र चेतावनी सन्देशको कुनै जवाफ समेत नदिएको बताएको थियो ।
तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले घटनापछि एक बयान जारी गर्दै दुर्घटनाप्रति खेद जनाएका थिए । तर, उनले जलेनाले लिएको फैसलाको भने बचाउ गरेका थिए । पछि एक जाँचमा जलसेनाका अधिकारीलाई विमानका विषयमा गलत सूचना दिइएको खुलासा भएको थियो । अमेरिकी जाँचकर्ताले संघर्ष क्षेत्रमा यात्रु विमान उड्ने अनुमति दिएको भन्दै इरानमाथि नै प्रश्न उठाएका थिए ।
Facebook Comment