सक्रिय बन्दै यूएईका युवराज

डिसी नेपाल
२८ पुष २०७६ २०:३७

अबुदाबी, (रासस/सिन्ह्वा) । संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले विभिन्न देशका नेतासँग कुराकानी गरेका छन् । उनले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग युएइको राजधानी अबुदाबीमा भेटेर आइतबार कुराकानी गरेका हुन् । भ्रमणका लागि आएका विडोडोलाई स्वागत गर्दै उनले विभिन्न विषयमा कुराकानी गरेको अधिकारीले जनाएका छन् ।

“आज मैले इन्डोनेसियाका राष्ट्रपति तथा मेरा साथी जोको विडोडोलाई स्वागत गर्दै दुई पक्षीय कुराकानी गरेका छौँ,” युवराज शेख मोहम्मदले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । उनले साझा चासो र दुई पक्षीयहितका बारेमा पनि कुराकानी गरेको सामाजिक सञ्जालमार्फत् नै जानकारी दिएका छन् ।

विषेशगरेर अर्थतन्त्र, लगानी, व्यापार र विकासका क्षेत्रका साथै दुई देशको मित्रतालाई थप मजबुद बनाउने बारेमा कुराकानी भएको उनले बताएका छन् । त्यसैगरी उनले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग पनि आइतबार नै कुराकानी गरेका छन् । फ्रान्सका राष्ट्रपतिसँग भने उनले टेलिफोनमा कुराकानी गरेका हुन् । “मैले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग फोनमा कुराकानी गरेको छु, मलाई उहाँले मलाई फोन गर्नुभएको थियो,” उनको आधिकारिक ट्वीटर हेन्डलमा लेखिएको छ । उनले फ्रान्सका राष्ट्रपतिसँग पनि सहकार्यमा जोड दिँदै आपसी सहयोग र सम्वन्ध विस्तारकै बारेमा कुराकानी भएको बताए ।

साथै महत्वपूर्ण क्षेत्रीय विषय, अन्तरराष्ट्रिय विकासलगायतका विषयमा पनि आफूले छलफल गरेको युएइका युवराजले उल्लेख गरेका छन् । “हामीले हाम्रा साझा चासो र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा र स्थायित्वका बारेमा कुराकानी गरेका छौँ,” युएइको सुरक्षा निकायको सर्वोच्च उपकमाण्डर समेत रहनुभएका शेख मोहम्मदले ट्वीटरमा लेखेका छन् । उनले यसअघि गत शनिबार नै रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनसँग पनि विविध विषयमा छलफल गरेका थिए । उनीहरुका बीचमा पनि विकसित पछिल्लो घटनाक्रम, दुई पक्षीय सम्वन्ध र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा तथा चासोका विषयमा कुराकानी भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *