सैनामैनामा ७२ किमी सडक कालोपत्र

डिसी नेपाल
२८ पुष २०७६ २१:०७

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा ७२ किलोमिटर सडक कालोपत्र गरिएको छ । नगरपालिकाको छैटौँ साधारणसभामा आज नगरप्रमुख चित्रबहादुर कार्कीले आव २०७३/०७४ सम्म नगरभित्र जम्मा ५० किमी सडक कालोपत्र रहेकामा हालसम्म ७२ किमी सडक कालोपत्र भएको उल्लेख गरे ।

चालू आव २०७६/०७७ को अन्त्यसम्ममा ९० किमी सडक कालोपत्र गर्ने लक्ष्य लिइएको छ । आव २०७४/०७५ मा वार्षिक तीन किमी सडक कालोपत्र निर्माण दर रहेकामा आव ०७५/०७६ मा मात्र १५ किमी सडक कालोपत्र निर्माण सम्पन्न हुने भएको छ । जुन ५०० प्रतिशतले वृद्धि हुन आउँदछ ।

नगरपालिकाले नयाँ कालोपत्र सडक निर्माण मात्र नभई पुराना कालोपत्र सडकको संरक्षणमा र आधुनिक तथा उच्च प्रविधियुक्त सडक निर्माण गरी सडकको दिगोपना र मर्मत खर्चमा कटौती गर्ने नीति लिएको छ । उक्त नीतिअनुरुप हाल नगरमा सञ्चालन हुने ठूला सडक आयोजनामा परम्परागत प्रविधियुक्त प्रि मिक्स कार्पेटको सट्टा आधुनिक अस्फाल्ट कङ्कृट प्रविधि प्रयोग भइरहेको छ ।

हालसम्म दुई हजार ८७१ मिटर अस्फाल्ट कङ्कृट सडक निर्माण भइसकेको छ । विगतमा ग्राभेल सडक मर्मतको नाममा सडकमा मिस्कट छर्ने परम्परालाई परिवर्तन गरी सडकको मापदण्डबमोजिमको सडक क्षेत्र कायम गरी ग्रेडिङ र रोलिङसहितको स्तरोन्नति ग्राभेल सडक निर्माण कार्य हुँदै आएको छ । हालसम्म ३०८ किमी सडक स्तनोन्नति सम्पन्न भइसकेको छ ।

त्यसैगरी, नगरको गौरवका रुपमा रहेको साविकका तीन गाविस समेट्ने गरी सैनामैना चक्रपथले समग्र क्षेत्रको ५२ किमीमध्ये १६ किमी लम्बाइको यस आवभित्र कालोपत्र गर्ने योजना छ । मुर्गिया लुम्बिनी सडकको कालोपत्र हुन बाँकी छ किमी सडकको निर्माण यस आवभित्र सम्पन्न गर्नका लागि प्रक्रिया अघि बढाइएको छ ।

नगरपालिकाको आव २०७३/०७४ को तुलनामा बजेटको आकार ८३७ प्रतिशतले वृद्धि भई चालू आव २०७६/०७७ मा कूल बजेट ९० करोड ८५ लाख ५१ हजार रहेको छ । त्यस्तै हालसम्म शिक्षा सुधारअन्तर्गत सात विद्यालय नजिकका विद्यालयमा गाभ्ने नीतिअनुरुप कक्षाकोठाको सिकाइलाई दिगो बनाउन विद्यालयमा सूचना प्रविधिको विकास र विस्तारमा जोड दिइएको छ । जसअन्तर्गत प्रत्येक विद्यालयमा एउटा कम्प्युटर ल्याबको स्थापना, अघिल्लो वर्ष २४१ र यस वर्ष २३० शिक्षकलाई सूचना प्रविधि तालिम दिएर सक्षम बनाइएको छ ।

यसैगरी १७१ कम्प्युटर, १८ थान ल्यापटप, १३ स्मार्ट प्रोजक्टर र सात प्रिन्टर वितरण तथा दुई विद्यालयमा सङ्घीय सरकारको सूचना प्रविधि ल्याब स्थापना गरी विद्यालयलाई सूचना प्रविधिमैत्री बनाइएको छ । विद्यालयमा पत्रुखाना निषेध गर्न नर्सरीदेखि कक्षा पाँचसम्मका बालबालिकालाई ३८१० थान टिफिनबक्स वितरण, रु ५० लाख बराबरको खेलकूद सामग्री र न्यानो कपडा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै पर्यटनको गन्तव्य क्षेत्रका रुपमा गत वर्ष नेपाल सरकारबाट स्वीकृत १०० नयाँ गन्तव्यस्थलमध्ये सैनामैनालाई समेत स्वीकृत गरेकाले सो पुरातात्विक क्षेत्र संरक्षणका लागि नियमितरुपमा पुरातात्विक वस्तुको सङ्कलन, ऐतिहासिक क्षेत्रको संरक्षण भइरहेको छ । सैनामैनामा सङ्ग्रहालय निर्माणको बृहत् परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सम्पन्न भएको छ । नेपाल सरकारबाट यस वर्ष विनियोजित ५० लाखको लागतमा ऐतिहासिक क्षेत्र संरक्षणका लागि तारबार र सो स्थानमा जाने सडक स्तरोन्नति गर्ने कार्य अगाडि बढाइएको बताइएको छ ।

त्यस्तै स्थायीरुपमा फोहरमैला व्यवस्थापन गर्नका लागि वडा नं १० को एक्लो पहाडमा रुपन्देहीका १६ स्थानीय तहको फोहमैला व्यवस्थापन गर्ने संयुक्त ल्याण्डफिल्डसाइट निर्माण परियोजनालाई सम्बन्धित निकायमा प्राथमिकतामा समावेश गरी नेपाल सरकारको विशेष अनुदानतर्फ चार करोड ५० लाख विनियोजन भई कार्यान्वयनको चरणमा छ ।

एकीकृत वैज्ञानिक कृषि प्रणाली लागू गर्ने लक्ष्य लिएकामा प्रदेश सरकारको अनुदान सहयोगमा वडा नं ३ को गङ्गानगरमा रु ५० लाखको लागतमा स्मार्ट पोल्ट्री फार्म स्थापना गरिएको छ । ५० लाखको लागतमा वडा नं ११ मा स्मार्ट कृषि गाउँको स्थापना र २५ लाखको लागतमा वडा नं ६ को भरतपुर सुखौरा क्षेत्रमा व्यावसायिक बाख्रापालनलाई निरन्तरता दिइने उपप्रमुख बीना रानाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *