फेरिँदैछ नेपालगञ्ज विमानस्थल

डिसी नेपाल
२९ पुष २०७६ १३:२१

बाँके। गुरुयोजनाअनुसार नेपालगञ्ज विमानस्थलको निर्माणकार्य तीव्र पारिएको छ। राँझा विमानस्थलबाट विमान उडान शुरु भएको चार दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो।

विसं २०१७ मा खजुरामा स्थापना गरिएको विमानस्थललाई विसं २०३० मा राँझामा स्थानान्तरण गरिएको थियो। जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगञ्ज विमानस्थलमा सेवा शुरू भएको हो। तराईको पुरानो र व्यवस्थित नेपालगञ्ज विमानस्थलले अन्तरराष्ट्रिय मापदण्डमा पुग्न अझै दुई दशक कुर्नुपर्ने भएको छ। त्यसका लागि अहिलेबाटै काम शुरु भइसकेको छ। यतिबेला विमानस्थलको रनवे विस्तारको काम धमाधम भइरहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगञ्ज आएर ठूला जेट विमान उडाउन मिल्ने गरी नेपालगञ्ज विमानस्थलको विकास र विस्तार गर्न निर्देशन दिइसकेका छन्। नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको २० वर्षे गुरुयोजनामा यसको विकास र विस्तारका लागि सन् २०४० सम्म कुर्नुपर्नेछ। त्यत्ति बेलासम्म अहिलेको विमानस्थलको आकार झण्डै दोब्बर हुनेछ भने पूर्वाधार पनि त्यही अनुरुप थपिनेछन्।

ठूला जेट विमान उड्नसक्ने महत्वकाँक्षी योजना छ। गुरुयोजनामा चार चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ। लक्ष्यमा पुग्न जग्गा अधिग्रहणबाहेक रु १२ अर्ब ५० करोडको लागत लाग्ने अनुमान रहेको विमानस्थल प्रमुख ठाकुरले बताए। उनले योजनाअनुसार काम भइरहेको बताउँदै विमानस्थललाई सुधारको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए। सन् २०२३ सम्म सम्पन्न हुने पहिलो चरणका लागि झण्डै दुई अर्बको बजेट छ।

पहिलो र दोस्रो चरणको काम शुरु भइसकेको छ। सन् २०३० सम्म सम्पन्न गर्ने दोस्रोचरणका लागि सबैभन्दा बढी बजेट साढे रु ६ अर्बको बजेट छ। त्यसैगरी सन् २०३५ मा सम्पन्न हुने तेस्रो चरणमा सवा दुई अर्बको बजेट छ। चौथो चरणमा पौने दुई अर्बको लागतमा सम्पन्न गर्ने लक्ष्य छ। दैनिक ४० सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलमा झण्डै एक हजार १०० यात्रुलाई दैनिक सुविधा पुगेको छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरुयोजनाअनुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्छ। हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुनेछ। यसका लागि डुडुवा नालालाई ३०० मिटर टाढा सार्ने योजना बनाइएको छ।

‘चार चरणमा काम सक्ने योजना छ,’ विमानस्थल प्रमुख ठाकुरले भने, “पहिलो चरण र दोस्रोचरणका काम अहिले धमाधम भइरहेका छन्।” रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै शुरु हुने उनले बताए। डिपिआरले दोस्रोचरणका लागि सन् २०२५ भित्र थप रू दुई अर्ब ८ करोडको लगानीमा विमानस्थल विस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटेको छ।

अन्तर्राष्ट्रियस्तरको विमानस्थलका लागि डिपिआर अनुसार नै काम अगाडि बढाउँदा लामो समय सम्पूर्ण उडान बन्द गरेर काम गर्नुपर्ने हुनसक्छ। डिपिआर स्वीकृतिपछि सरकारसँग लगानी माग गरिनेछ। त्यसैगरी तेस्रो र चौथो चरणको काम भने झण्डै २० वर्षको लक्ष्यलाई प्रक्षेपण गरिएको छ। प्राधिकरणका अनुसार, तेस्रो चरणको कामले नेपालगञ्ज विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनेको देखिने छ। जसमा रु सात अर्ब ४० करोड खर्च हुने अनुमान छ।

नयाँ योजना अनुसार, नेपालगञ्ज विमानस्थलको रनवे तीन सी क्याटोगरी अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा दुई हजार ४४५ मिटर लामो रनवे बनाइनेछ। त्यसो गर्दा हाल एटिआर विमान उडान गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजना अनुसार काम भए आगामी दुई दशकभित्र एयरबस जस्ता ठूला जेट विमान पनि सहजै उडान गर्नसक्ने विमानस्थल तयार हुनेछ।

हाल ६ वटा मात्र विमान अटाउने पार्किङमा नौ वटा ठूला (साना ११) वटा विमान पार्किङ गर्न सकिनेछ। नेपालगञ्जबाट सबैभन्दा धेरै उडान काठमाडौँं हुन्छ। नेपाल एयरलाइन्स, बुद्ध, यतिलगायतका विमानले उडान भरिरहेका छन्। प्राधिकरणका अनुसार अहिले दैैनिक एक हजार ५०० जनाले हुम्लाको सिमकोट, मुगुको रारा, जुम्ला, बाजुरा, रूकुमलगायतका जिल्लामा उडान भर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *