योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा

डिसी नेपाल
१ माघ २०७६ १३:२४

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको बताएका छन्। विज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको बताउँदै ज्ञवालीले यो गौरवपूर्ण परम्परा र सम्पदा भएको बताएका हुन्।

राष्ट्रिय योग दिवसका अवशरमा राजधानीमा भएको एक कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र धेरै महत्वपूर्ण सम्पदा तथा ज्ञानहरु हस्तान्तरण गरेर गएको बताए।

‘आधुनिक विज्ञान, प्रविधि नभएको बेला, आधुनिक मेडिकल विज्ञानको विकास भएको थिएन। जतिबेला डाइन्गोष्टिक र ट्रिटमेण्डका लागि अहिलेजस्तो सहज सुलभ प्रविधिहरु थिएनन्। हाम्रा अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र अरु धेरै महत्वपूर्ण सम्पदा र ज्ञानहरु हस्तान्तरण गरेर गए’, उनले भने, ‘विभिन्न किसिमका तनावलाई ध्यानले कम गर्न सक्छ। प्रभावकारी छ। यो गौरवपूर्ण धरोहरुलाई विद्यालय शिक्षसँगै जोडेर जीवनको अभिन्न अंग बनाउनुपर्छ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले योगको माध्यमबाट मान्छेमा सकारात्मक भावनाको विकास हुने बताए। विश्वमा एक दिनमा दुर्घटनाबाट ८ जना र १६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्यकले देखाएको बताउँदै उनले योग शिक्षाको माध्यमबाट यसलाई रोक्न सकिने उनले बताए।

‘मान्छेमा योगको माध्यमबाट सकारात्मक भावनाको विकास गर्न सकियो भने आत्महत्या जस्ता घटनाहरु न्यूनिकरण गर्न सकिन्छ’, ढकालले भने।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले योगलाई औषधि र उपचारको अर्थमा मात्रै नभएर जीवन पद्धतिको रुपमा बुझ्नुपर्ने बताए। योग दिवसका अवशरमा एक दिन कार्यक्रम गरेर मात्रै नहुने बताउँदे उनले यसलाई जनजनमा पुर्याउन अभियान नै चलाउनुपर्ने बताए।

योग र प्राकृतिक चिकित्सालाई पाठ्यक्रममा समावेश गर्ने योजना सरकारको रहेको उनले बताए। एकहप्ता भित्र योग अभ्यासको पुस्तिका सार्वजनिक गर्ने तयारी रहेको पनि उनले बताए।

स्वामी आनन्द अरुणले विश्वमा राजनीतिक र धर्मका कारण झगडाहरु हुने गरेको उल्लेख गर्दै योग र साधनाको माध्यमबाट विश्वालाई एकतावद्ध गर्न सकिने बताए। उनले योगसम्बन्धि अध्ययन हुने राष्ट्रियस्तरको शिक्षालयको आवश्यकता समेत औंल्याए।

भ्रमण वर्ष घोषणा गरेर मात्रै पर्यटक नआउने भएकोले योग, साधनाबाट लाखौं पर्यटक भित्र्याएर महिनौंसम्म नेपालमै राख्न सकिने बताए।

राष्ट्रिय एकताः योगको सान्दर्भिकता नारा सहित बुधबार योग दिवस मनाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राललयको आयोजनामा दिवस मनाइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *