‘साङ्लो’को नयाँ गीत छायाँकन

डिसी नेपाल
१ माघ २०७६ १३:५१

काठमाडौं। एक्सन स्टार विराज भट्टको निर्देशकीय डेब्यू चलचित्र ‘साङ्लो’ यही माघ २४ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।

विराजको पहिलो निर्देशन र झण्डै तीन वर्षपछि अभिनयमा कमब्याक गर्न लागेका कारण ‘साङ्लो’लाई चलचित्रकर्मी र दर्शकले चासोका रुपमा हेरेका छन्। विराजले पनि चलचित्रका लागि निकै मेहनत गरेका छन्।

चलचित्रमा विराजले मिस नेपाल २०१७ निकिता चण्डकसंग जोडी बाँधेका छन्। निकिताले पनि चलचित्रमा मेहनत गरेकी छिन्। यसअघि सार्वजनिक चलचित्रको टिजर, पोष्टर, गीत र ट्रेलरले दर्शकको ध्यान केन्द्रित गरिरहेको छ।

चलचित्रको ‘चरीले काफ्ले टिप्यो’बोलको गीत लोकप्रिय भैरहँदा हालै अर्को गीतको काठमाडौंमा छायांकन भैरहेको छ।  सुरेश अधिकारीको संगीत, अन्जु पन्त र निशान भट्टराइको स्वर रहेको गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन्। डान्सिङ नम्बरको यो गीतको छायांकन सकेको केही दिनमै सार्वजनिक गरिने निर्माणपक्षले बताएको छ।

चलचित्रको नयाँ गीत छायाँकन सेटबाट केही तस्वीरहरु बाहिरिएका छन्। यसअघि ‘चरीले काफल टिप्यो’ बोलमा परम्परागत पहिरनमा देखिएको यो जोडी नयाँ गीतमा मोर्डन पहिरनमा देखिनेछ। सार्वजनिक तस्वीरमा विराज र निकिता रोमान्टिक देखिएका छन्। यस गीतबाट पनि निर्माण पक्षले ठूलो अपेक्षा लिएको छ।

शिवम अधिकारीको लेखन रहेको ‘साङ्लो’ले किड्नी तस्करीको कथा वाचन गर्ने बताइएको छ। चलचित्रमा विराज र निकिताका साथमा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको अभिनय छ। विराज भटट् फिल्म प्रोडक्सन प्रा.ली.को व्यानरमा निर्मित चलचित्रको निर्माता तेज बहादुर खड्का हुन्।

सुरेश अधिकारी र राजनराज शिवाकोटीको संगीत रहेको चलचित्रका गीतमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ। चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको द्धन्द्ध तथा अर्जुन जिसीको सम्पादन छ।

तस्वीर : ज्ञानु राई




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *