‘सेल्फी किङ’को सेल्फी फोटो कन्टेस्ट
काठमाडौं। भर्सटायल अभिनेताको रुपमा परिचित विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’ले प्रचारप्रसारमा नयाँ तरिका अगाडी सारेको छ।
आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रले नेपालको पपुलर एप हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ल्याएको छ।
इच्छुक सहभागीहरुले ह्युमर र कमेडी हाउभाउमा सेल्फी तस्विर खिचेर हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्नेछन्। त्यसरी पोष्ट गरिएको सेल्फीमा सहभागीहरुले विभिन्न मेकअपको प्रयोग समेत गर्न सक्नेछन्। तर त्यो अनिवार्य भने छैन। पोष्ट गरिएका सेल्फीहरुमध्ये विजेता छनौट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइनेछ।
त्यसरी खिचिएका तस्वीरहरुमा आएका अत्याधिक लाइक र कमेन्टसँगै ‘सेल्फी किङ’ निर्माण टिमले विजेता छनौट गर्नेछ। माघ ५ देखि माघ २० सम्म सहभागिता जनाउन सकिने यस प्रतियोगिताको विजेताको घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गरिनेछ।
यस प्रतियोगिताका विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति प्रदान गरिनेछ भने अन्य १० जनालाई सान्त्वना पुरस्कार स्वरूप प्रिमियरको पास जनही २ वटाको दरले उपलब्ध गराइनेछ।
यस प्रतियोगिताले ’सेल्फी किङ’झैँ कलाकार बन्ने सपना बोकेको व्यक्तिलाई सहयोग गर्नेमा चलचित्रका निर्माता दिनेश राउत विश्वस्त छन्। आफ्ना प्रयोगकर्तालाई यसले फाईदा पुर्याउने र नेपाली चलचित्रको प्रवर्धनमा पनि टेवा पुग्ने भएकोले यस प्रतियोगितालाई अगाडी ल्याइएको हाम्रो पात्रोका एमडी सन्तोष देवकोटाले बताए। यस किसिमको प्रतियोगिता र त्यसबाट कलाकार बन्न चाहनेलाई थोरै भएपनि लाभ पुग्नेमा विपिन विश्वस्त छन्।
विशाल सापकोटाको कथा तथा निर्देशनमा बनेको चलचित्रलाई दिनेश राउत र सुवास थापालेसंयुक्त रुपमा निर्माण गरेका हुन्। चलचित्रमा लक्ष्मी वर्देवाले विपिनको श्रीमतीको भूमिका निभाएकी छिन् भने भुवन चन्द आमाको भूमिकामा छिन्।
चलचित्रमा विपिन, लक्ष्मी, भुवनका अलावा अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको पनि अभिनय छ। अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा नृत्य गरेकी छिन्।
Facebook Comment