६ महिना भित्र काठमाडौंको सडक धुलोरहित बन्छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
२३ भदौ २०७५ १५:३४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल पार्ने प्रयाश हरु भइरहेको बताएका छन्।

जिल्ला समन्वय समिति महासङ्घ, नेपालको प्रथम राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले मन्त्रीहरूले राम्रो काम गरिरहेको उल्लेख गर्दै हटाउनुपर्ने आवश्यकता नै नरहेको समेत बताए।

उनले रोजगारीको आकर्षक अवसर सृजना हुने गरी सरकारले विकासको नयाँ मोडलको कामलाई अघि बढाएको पनि बताए। प्रधानमन्त्री ओलीले ६ महिना भित्र काठमाडौंको सडक धुलोरहित हुने र मेलम्चीको खानेपानी र ढलको पनि उचित व्यवस्था गर्ने घोषणा गरेका छन्।

मेलम्चीको पानी ल्याउनु परेकाले केही समय अझै काठमाडौंको सडक धुलाम्मे हुने अवस्था रहेको प्रधानमन्त्री ओलीको भनाई छ। प्रधानमन्त्री ओलीले दुई वर्ष भित्र काठमाडौंको सबै सडक पिच हुने दावी गर्दै सरकारलाई असफल पार्ने प्रयास नगर्न विरोधीहरूलाई आग्रह गरे।

प्रधानमन्त्री ओलीले चीनसँग पारवहनका लागि प्रोटोकल सम्झौता गरेर नेपालले असाधारण उपलब्धि हासिल गरेको पनि स्मरण गराए। उनले आफू प्रधानमन्त्री भएपछि भारतसँगको सम्बन्धमा पनि सुधार आएको उल्लेख गर्दै अव चाँडै कोशी र गण्डकी नदीमा पानी जहाज चलाउन सर्वेक्षणको काम सुरु गर्ने योजना पनि अघि सारे।

प्रधानमन्त्री ओलीले नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएको उल्लेख गर्दै त्यसलाई आवश्यक अनुसार संशोधन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *