निर्भयाका दोषीलाई २२ जनवरीमा फाँसी दिन मिल्दैन

डिसी नेपाल
२ माघ २०७६ ११:४०

काठमाडौं। भारतको बहुचर्चित निर्भया हत्याकाण्डका ४ जना दोषीलाई यही जनवरी २२ मा फाँसी दिने मिति तोकिएको छ । तर, कानुनअनुसार यो दिन फाँसी दिन मिल्दैन । ४ जनामध्ये १ दोषी मुकेशले राष्ट्रपतिकहाँ दया याचिका पठाएका छन् । यसका अलावा विनयसँग पनि अझै दया याचिका पठाउने विकल्प बाँकी नै छ । अक्षय र पवनसँग त दया याचिकासँगै क्युरेटिभ पिटिशनको पनि विकल्प बाँकी छ ।

‘दिल्ली प्रिजन म्यानुअल २०१८’ अनुसार यदि कुनै एउटै मुद्दामा एकभन्दा धेरै दोषीलाई फाँसीको सजाय दिइएको अवस्थामा कुनै एकको दया याचिका लम्बित छ भने त्यसमा फैसला आउनुभन्दा पहिले फाँसी दिन मिल्दैन । तिहाड जेल प्रशासनका वकिलले पनि दिल्ली हाइकोर्टमा भनेको भनाइ उद्धृत गर्दै दैनिक भास्करले लेखेको छ ‘चारैजना दोषीलाई २२ जनवरी बिहान ७ बजे निश्चित रुपमा फाँसी दिन मिल्दैन किनकि एक दोषीको दया याचिका राष्ट्रपतिकहाँ लम्बित छ । हामी नियमले बाँधिएका छौं । याचिका खारेज भए पनि त्यपछि दोषीलाई १४ दिनको नोटिस दिनुपर्छ ।’ अर्थात याचिका आजै खारेज भए पनि १४ दिनको नोटिस दिएर त्यसपछि मात्र फाँसी दिन पाइन्छ । २२ जनवरी आउन ६ दिन मात्र बाँकी छ ।

२२ जनवरीमा फाँसी दिन नमिल्ने ४ कारण:

१. दिल्ली प्रिजल म्यानुअलका अनुसार दोषीहरुसँग डेथ वारेन्ट वा फाँसीको सजाय विरुद्ध अगाडि अपिल गर्ने अधिकार हुन्छ । यसमा जेलका अधीक्षक नै उनीहरुलाई सहयोग गर्न बाध्य हुन्छन् । दोषीहरुसँग सर्वोच्च अदालतमा अपिल गर्ने अधिकार छ । यदि उनीहरुले अपिल गरे भने तबसम्म फाँसी दिन सकिँदैन जबसम्म अपिलमा अन्तिम फैसला आउँदैन वा जबसम्म अपिल खारेज हुँदैन ।

२. सर्वोच्च अदालतबाट राहत नपाए पनि दोषीहरुसँग ७ दिनभित्र राष्ट्रपतिकहाँ दया याचिका पठाउने अधिकार छ । यस्तोमा जबसम्म दया याचिकामा फैसला हुँदैन तबसम्म उनहिरुलाई फाँसी दिन सकिन्न ।

३. सबै दोषीहरु राष्ट्रपतिकहाँ दया याचिका पठाउन सक्छन् । सबै दया याचिका खारेज भए पनि दोषीहरुसँग १४ दिनको समय हुन्छ । सर्वोच्च अदालतले सबै विकल्प सकिएपछि पनि दोषीलाई आफन्तहरुसँग भेटघाट गर्नको लागि १४ दिनको समय तय गरेको छ । यो १४ दिनको समय सकिएपछि मात्र फाँसी दिन पाइन्छ ।

४. दिल्ली प्रिजन म्यानुअलको ८३७ नम्बर बुँदाअनुसार यदि एउटै मुद्दामा एकभन्दा धेरै दोषीहरुलाई फाँसीको सजाय दिइएको अवस्थामा दोषीहरुमध्ये कुनै एकले मात्र अपिल गरेमा सबै दोषीहरुलाई त्यो अपिलको फैला नआउँदासम्म फाँसी दिन मिल्दैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *