शहरको चार प्रतिशत संरचना निर्माणमा संहिताको पालना हुन सकेन

डिसी नेपाल
२ माघ २०७६ १९:१३

कैलाली । धनगढी उपमहानगरपालिका क्षेत्रमा ‘बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी मार्गदर्शन २०७२’ (राष्ट्रिय भवन संहिता) पूर्ण रुपमा लागू गराउन चुनौती देखिएको छ ।

उपमहानगरपालिका कार्यालयका इञ्जिनीयर द्विजराज भट्टले जनचेतनाको कमी र प्रयाप्त रुपमा प्राविधिक पहुँच पुग्न नसकेका जस्ता कारणले बनाइएको राष्ट्रिय भवन संहिता पूर्ण रुपमा कार्यान्वयन गर्न समस्या भइरहेको बताए । शहरमा चार प्रतिशत र ग्रामीण बस्तीमा २० प्रतिशत संरचना निर्माणमा अझै संहिताको पालना नभएको भेटिएको इञ्जिनीयर भट्टले बताए ।

उनले भने, “यद्यपी घर संरचना निर्माणको अवस्थामा पहिलेको भन्दा हाल निकै सुधार भई ठूला घर प्राविधिक रेखदेख र डिजाइन बमोजिम निर्माण हुने गरेका छन् ।” भूकम्पबाट घर लगायतका संरचना जोगाइ मानवीय क्षति हुनबाट रोक्न चार वर्ष अघि धनगढी उपमहानगरपालिकामा यो मार्गदर्शन लागू गरिएको थियो ।

सरकारले स्वीकृत गरेको यो ‘बस्ती विकास शहरी योजना तथा भवन निर्माणसम्बन्धी मार्गदर्शन २०७२ लाई तत्कालीन नगरपरिषद् बैठकले पारित गरेसँगै लागू गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि घरलगायत संरचना निर्माण गर्दा संरचनाको प्राविधिक पक्षमा कमीकमजोरी हुन नदिन यो मार्गदर्शन तयार पारिएको बताइएको छ ।

यो मार्गदशर्नमा पाँच तल्लाभन्दा माथिका घर संरचना निर्माण गर्दा अनिवार्य रुपमा निर्माणस्थलको माटो परीक्षण गराएर मात्र निर्माण गर्नुपर्ने, कुनै पनि सडक कम्तिमा पनि छ मिटर चौडा हुनुपर्ने, प्लटिङ् गरी जग्गाको कारोवार गर्नेले अबदेखि स्वीकृति लिएर मात्र जग्गाको ‘प्लटिङ्ग‘ गर्न पाउने, बिजुली, खानेपानी, सडकलगायतका आधारभूत पूर्वाधार भएका जग्गा मात्र ‘प्लटिङ‘का लागि योग्य हुने लगायत नयाँ व्यवस्था गरेको छ ।

जग्गा ‘प्लटिङ‘ गरेर व्यवसाय गर्ने कामलाई भने केही वर्षदेखि सरकारले रोकेको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा पछिल्ला वर्षमा घर संरचना निर्माणमा व्यापक वृद्धि हुँदै गएको छ । प्रदेशको अस्थायी राजधानी शहरका साथै मुख्य व्यापारिक केन्द्रको रुपमा देखिन थालेसँगै बढ्न थालेको बसाइँसराइको चापले धनगढीमा वर्षेनी घर संरचना निर्माण हुने क्रम बढ्दै गएको हो ।

घर निर्माणमा व्यापक वृद्धि हुँदा हाल वर्षेनी एक हजारभन्दा बढी घर नक्शा पास हुन थालेको इञ्जिनीयर भट्टले बताए। यसबाहेक ग्रामीण क्षेत्रमा नक्शा पास नगरी घर निर्माण गर्नेको सङ्ख्या वर्षेनी झण्डै ४ सय रहेको बताइएको छ ।

यस अघि वर्षमा झण्डै ७ सय घरको नक्शा पास हुने गरेको थियो । साविकको धनगढी नगरपालिकालाई नजिकका उर्मा र फुलबारी गाविस गाभेर सरकारले केही वर्षअघि धनगढी उपमहानगरपालिका बनाएको थियो । यसैबीच बाइसौँ राष्ट्रिय भूकम्प दिवसको अवसरमा बिहीबार धनगढीमा प्रभातफेरी निकालिएको छ । सप्ताह व्यापीरुपमा यो दिवस विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *