सभामुख पूर्व माओवादीलाई दिन प्रधानमन्त्री ओली सकारात्मक

डिसी नेपाल
३ माघ २०७६ ८:३०

काठमाडौं। सभामुखको उम्मेद्वार टुंगो लगाउने विषयले विवादको रुप लिइरहेका बेला बिहीबार नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच झण्डै तीन घण्टा लामो छलफल भयो।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच सभामुख चयन लगायतका विषयमा साढे दुई घण्टा छलफल भएको थियो। दुई अध्यक्षबीच सभामुख चयनकै विषयमा छलफल भएको र छलफल सकारात्मक भएको बताइएको छ।

छलफल सकारात्मक ढङ्गले अघि बढेको स्रोतको दावी छ। दुई नेताबीच सभामुखको विषयलाई लिएर यस अघि बढेको दुरी कम गर्दै र सहमतिमा सभामुखको उम्मेदवार चयन गर्नेबारेमा केन्द्रीत भएको स्रोतको दावी छ।

सभामुखको नाम टुंगो लगाउन बढेको विवादले प्रधानमन्त्री ओली र प्रचण्डबीच गत आइतबार यता भेटघाट तथा संवाद भएको थिएन।
शनिबार नेकपा सचिवालय बैठकले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो।

तर तुम्बाहाङफेले सभामुख उम्मेदवार चयन नगरेसम्म आफूले पदबाट राजीनामा नदिने अडान लिएपछि दुई अध्यक्ष बिहीबार सभामुख उम्मेदवार चयनकै विषयमा केन्द्रित रहेर छलफलमा बसेका थिए।

दुई अध्यक्ष छलफलमा बस्नु अगाडि प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी महासचिव विष्णु पौडेल, सचिवालय सदस्य पोखरेल र नेता सुवास नेम्बाङसँग आन्तरिक छलफल गरेका थिए। उता दाहालले पनि खुमलटार निवासमै गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा, नेताहरू अग्नि सापकोटा, हरिबोल गजुरेल, जर्नादन शर्मालगायतसँग छलफल गरेका थिए।

प्रचण्डले कुनै सभामुख आफ्नो पक्षलाई दिनैपर्ने अडान राखेपछि ओली सकारात्मक बनेको बताइएको छ। पूर्व माओवादीलाई सभामुख दिन ओली सहमत भएपनि आफूलाई स्वीकार्य हुने उम्मेद्वार दिन प्रचण्डलाई आग्रह गरेको स्रोतले जनाएको छ।

बिहीबार सकारात्मक छलफल गरेका दुई अध्यक्षले शुक्रबार पनि थप छलफल गर्ने तयारी गरेका छन्। त्यसपछि सचिवालय बैठक बोलाइ ६ माघ अगाडि नै पार्टीका तर्फबाट सभामुखको उम्मेदवार चयन गरिसक्ने तयारीमा दुवै अध्यक्ष गम्भिरतापूर्वक लागेको बालुवाटार स्रोतले बतायो।

संसद्मा झन्डै दुई तिहाइनजिक रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् बैठक एक महिनादेखि बन्धक बन्दै आएको छ। संसद् बैठक अब ६ माघका लागि डाकिएको छ। पार्टीले उम्मेदवार चयन गरे उपसभामुख तुम्बाहाङफेले सोही दिन पदबाट राजीनामा दिने बताइरहेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *