प्रधानसेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट

डिसी नेपाल
४ माघ २०७६ १२:५२

काठमाडाैं। प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको पहिलो भूतपूर्व सैनिक सम्मेलन यही माघ १२ गते दाङको घोराहीबाट शुरु हुँदैछ।
प्रत्येक प्रधानसेनापतिले आफ्नो कार्यकालमा सैनिक जीवनबाट अवकाश प्राप्त भूतपूर्व सैनिक सम्मेलन क्षेत्रगत रुपमा एकपटक गर्दै आएका छन्।

रुकुम, सल्यान, दाङ, प्यूठान र रोल्पा जिल्लामा स्थायी बसोबास गर्ने भूपूलाई लक्षित गरी माघ १२ गते घोराही ब्यारेक दाङमा यो शृङ्खलाको पहिलो भूपू सम्मेलन हुँदैछ।

उक्त सम्मेलनका क्रममा भूपूलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा, सहभागीलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वाेत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई पुरस्कार, ज्येष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ।

सम्मेलनमा सैनिक नेतृत्वसँग भूपूले आफूलाई परेको पीरमर्का सुनाउने र नेतृत्वले त्यसलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने विषयमा छलफल हुनेछ। यसखाले सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठी पल्टनियासँगको अभूतपूर्व जमघटका रुपमा लिने गर्दछन्।

सम्मेलनको मुख्य समारोहस्थलमा उमेरले आठ दशक पार गरेका भूपूले निकै जोस र जाँगरका साथ पिटी परेड प्रस्तुत गर्नेछन्। नेपाली सेनाको व्यवस्थापन र कल्याणकारी बोर्डको संयोकत्वमा मुलुकका सातै प्रदेशमा यसखाले सम्मेलन हुनेछ। सम्मेलनका क्रममा भूपू र तिनका आश्रित परिवार एवम् एकल महिलाको क्षेत्रगतरुपमा ठूलो सङ्ख्यामा उपस्थित रहनेछ।

विगतमा द्वन्द्वका कारण १५ वर्षसम्म स्थगन भएको भूतपूर्वसैनिक सम्मेलन २०७० साल माघबाट पुनः आरम्भ गरिएको थियो। मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपूको सङ्ख्या ७० हजार छ। नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजनमा भूपू सम्मेलन हुँदै आएको छ।

नेपाल इन्भेस्टमेन्ट बैंकले लघुवित्त कार्यक्रममार्फत सहुलियत ब्याजदरमा नेपाली सेनाको संयोजनमा भूपूलाई सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउँदै आएको छ। उक्त कर्जा लिएर लघुवित्त कार्यक्रम सञ्चालन गर्ने भूपू र आश्रित परिवारको सङ्ख्या १० हजार पुगिसकेको छ।

प्रदेश नं ५ मा घोराहीपछि भूपूसैनिक सम्मेलन फागुन १४ गते बुटवल र फागुन १५ गते नेपालगञ्जमा हुनेछ। यस्तै माघ १३ गते कर्णाली प्रदेशको सुर्खेत र २४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ। यसैगरी गण्डकी प्रदेशमा आगामी चैत १७ गते तनहुँको खैरेनीटार र १८ गते पोखरामा हुने नेपाली सेनाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *