जगदम्बा स्टिलमा नेपाली कामदार न्यून रहेको विषयमा संसदीय समितिले छलफल गर्ने
काठमाडौं। जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको तथा कामदारको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अध्ययन गरी छलफल गर्ने भएको छ।
आइतबार काठमाडौंमा बसेको समतिको बैठकले जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको र श्रमिकहरुको सुरक्षा कमजोर रहेकोले अध्ययन गर्नुपर्ने जनाएको हो।
समितिका सदस्यहरुले यसअघि चितवन, पर्सा र बारा जिल्लामा रहेका उद्योगहरुको अनुगमन गर्ने क्रममा जगदम्बा स्टिल उद्योगको समेत अनुगमन गरेको थियो।
उद्योगमा नेपाली कामदार ५८ प्रतिशत मात्र रहेको र सामाजिक सुरक्षामा सहभागि नगराइएको तथा काम गर्दा समेत सुरक्षाका कुनै मापदण्ड पूरा नगरेको पाइएकाले समितिले थप अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति सदस्य प्रकाश रसाइली स्नेहीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो।
सोही अनुसार उपसमितिले अध्ययन गरी संयोजक रसाइलीले आइतबारको बैठकमा प्रतिवेदन पेश गरेको समिति सभापति बिमलप्रसाद श्रीवास्तवले बताए। उनले उक्त प्रतिवेदनमाथि थप अध्ययन गरी आवश्यक कारबाही अगाडि बढाइने समेत बताए।
उपसमितिले बुझाएको प्रतिवेदनमा जगदम्बा स्टिल उद्योगमा नेपाली कर्मचारी तथा कामदारहरुलाई प्राथमिकता नदिएको, औद्योगिक क्षेत्रको सञ्चालनमा प्रयाप्त स्थानको कमी देखिएको र कामदारहरुको जोखिम न्युनिकरणका लागि कुनै व्यवस्था नगरिएको उल्लेख छ।
Facebook Comment