प्रशासनकै संलग्नतामा व्यक्ति हत्या भएको सांसदको दावी

डिसी नेपाल
५ माघ २०७६ १७:०४

काठमाडौं। राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रशासनको मिलेमतोमा व्यक्ति हत्या बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ।

राष्ट्रियसभा सदस्य मुक्ता कुमारी यादवले प्रशासन र राज्यसत्ताको आडमा मुलुकका विभिन्न स्थानमा हत्याका घटना भइरहेको आरोप लगाइन्। धनुषाका दीलिप भनिने ओम प्रकाश महतो, यसअघि आफ्नै छोरा रुपेश भनिने लोकेश कुमार यादव, निर्मला पन्त लगायत मुलुकभरका हत्याका घटनामा प्रशासनको संलग्नता रहेको दाबी उनले गरिन्।

प्रशासनको मिलेमतोमा पर्यावरणीय अभियन्ता ओम प्रकाश महतोको हत्यालाई दुर्घटना जस्तो देखाउने काम भएको उनले तर्क गरिन्। महतोको धारिलो हतियार प्रयोग हत्या गरी गरिएको र दुर्घटना हो भन्ने देखाउन ट्रिपर मुनि लगेर राख्ने काम गरिएको तथा प्रहरीले पनि घटनास्थलमा मुचुल्का पनि नउठाई मरिसकेको व्यक्तिलाई अस्पताल लैजाने काम गरेबाट मिलेमतो पुष्टि भएको तर्क उनले गरिन्।

उनले भनिन्, ‘पछिल्लो समय देशभरी जति पनि इलिगल काम हुन्छ ती सबैमा प्रशासनले कमिसन खान्छ। मेरै छोराको हत्या भयो त्यहाँ लोकल पुलिसहरुले घुस खाएर घटनालाई एक्सिडेण्ट तिर मोडिएको छ।’

उनले हत्यामा संलग्नलाई कारवाही गरी महतोलाई पर्यावरणीय शहीद घोषणा गरि क्षतिपूर्ति सहित परिवारको संरक्षणको व्यवस्था गर्न सरकारसंग माग गरिन्।

बैठकमा सरकारले राष्ट्रिय मानवअधिकार आयोगको बार्षिक प्रतिवेदन २०७५÷२०७६ पेस गरेको छ। सरकारको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्गले प्रतिवेदन बैठक समक्ष पेस गरे।

त्यसैगरी संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५ सम्बन्धि विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश भएको छ। बैठकले रेलवे विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

आइतबारकै बैठकले गृहमन्त्री राम बहादुर थापाले राखेको अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्र्तगतको पालेर्मो अभिसन्धिलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

राष्ट्रियसभाको अर्को बैठक सोबार अपरान्ह १ बजेका लागि बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *