नागरिकका अधिकार कटौती गर्ने विधेयक मान्य हुदैन : अध्यक्ष आचार्य
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचना प्रविधि विधेयकमा रहेका नागरिकको अधिकारलाई बन्देज गर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन र गैर सरकारी संस्था महासंघले मंगलबार आयोजना गरेको अन्तरक्रियामा उनले नेपालका राजनीतिक परिर्वतनमा नागरिकको सक्रिय भूमिका रहेको हुँदा नागरिककै अधिकार कटौती गर्ने विधयेक मान्य नभएको बताए । उक्त विधेयकको कतिपय प्रावधानले नागरिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने व्यवस्था संशोधन गर्नुपर्ने र संशोधन नगरे महासंघ पछि नहट्ने उनको भनाइ थियो ।
नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकारले विधेयक ल्याउँदा सम्बन्धित सरोकारवालासँग संवाद र सहकार्य गरेर मात्रै ल्याउनुपर्नेमा जोड दिए । कानून आवश्यक भएको तर नागरिको अधिकार कटौती हुने कानून मान्य नहुने भन्दै उनले विधेयकमा सरकारले सूचना प्रविधि अदालत गठन गर्ने प्रावधान नेपालको संविधानविपरीत भएको बताए।
गैरसरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामाले सरकारले ल्याएका विधेयकहरुले नागरिकको अधिकार कटौती गर्ने प्रयास गरिरहेकोमा सम्पूर्ण नागरिक समाज एक भई जनताको अधिकार संरक्षण र लोकतन्त्र बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहभागीले सो विधेयक जरुरी भए पनि सरोकारवालासँग छलफल गरी नागरिकको अधिकारलाई कटौती नगर्ने गरी विवादित व्यवस्थालाई संशोधन गर्नुपर्ने सुझाव दिएका थिए ।
Facebook Comment