२०१९ सालको हत्यामा अहिले सहिद घोषणा

डिसी नेपाल
८ माघ २०७६ ९:२४

काठमाडौं। आज भन्दा ५७ वर्ष अगाडि हत्या गरिएका एक जना कम्युनिष्ट कार्यकर्तालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा गृहमन्त्री रामबहादुर थापाले पेश गरेको प्रस्ताव सदर गर्दै सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

नयाँ थपिएका सहिद हुन् नेत्र गुरागाईँ। उनी तेह्रथुम निवासी भएको बताइएको छ। २०१० सालमा पूर्वी पहाडी जिल्लाहरुमा कम्युनिष्ट पार्टीका गतिविधि गर्दै पार्टीलाई फैलाउन खटिएका गुरागाईँ २०१८ सालमा भारतको दरभंगाबाट फर्किएपछि धनकुटा र तेह्रथुमको सिमानामा पर्ने छथरमा पक्राउ  परेका थिए।

गुरागाईँलाई तत्कालीन राजा महेन्द्रको २०१७ साल पुस १ गतेको शाही ‘कू’ पछि कडा यानता दिइएको थियो। थुनामै परेको अवस्थामा २०१९ साल कात्तिक १९ गते उनलाई गोली हानि हत्या गरिएकोले सहिद घोषणा गर्नु परेको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।

नव घोषित सहित गुरागाईँका परिवारले सहिद परिवारले पाउने सम्मान र सुविधा पाउने भएका छन्।  नेकपाका नेता गुरु बरालका अनुसार गुरागाईँ तेह्रथुमको आम्बोङमा जन्मिएका हुन्।

 

काे  हुन् नेत्र गुरागाईँ?

नेकपा नेता गुरु बरालकै  शब्दमा

नेत्र गुरागाईँ तेह्रथुम आम्बोङमा जन्मिनु भएको हो। युवा अवस्थादेखि नै उहाँ वामपन्थी राजनीतिमा सामेल हुनु भयो। त्यो बेला पूर्वी पहाडको राजनीतिक जारणका लागि पुष्पलाल श्रेष्ठ, मनमोहन अपधकारी जस्ता राजनेता कार्यकर्ता प्रतिक्षणका लागि पूर्वी पहाडमा जानुहुन्थ्यो। यही बेला कम्युनिष्ट राजनीतिप्रति उहाँ दीक्षित हुनुभयो। त्यसपछि उहाँको राजनीतक यात्रा सुरु भयोे। त्यो बेला पञ्चायती व्यवस्थाको पार्दुभाव भएको थियो।

पञ्चायत शासन व्यवस्था विरुद्ध नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले आन्दोलन सुरु गरेका थिए। धनकुटामा बडामाकिम यज्ञवहादुर थापा थिए। उनीमार्फत पञ्चायतको विरुद्धमा लागेका राजनीतिककर्मीलाई दमन गर्ने काम सुरु भएको थियो। त्यही दमनका विरुद्ध नेत्र गुरागाईँ लागिरहनु भयो।

त्यही सिलसिलमा उहाँहरु अबको नयाँ बाटो के हो भन्ने विषयमा छलफल गर्नुहुन्थ्यो। पञ्चायतले आफू विरुद्ध लाग्नेलाई वैचारिक रुपमा कन्भिन्स गरेर पञ्चायत छिराउने र केही उपाय नलागे गोली हान्ने नीति अख्तियार गरेको थियो। अन्य धेरै साथीहरु पञ्चयतप्रति नरम भएपनि उहाँ पञ्चायत विरुद्ध उभिनु भयो।

त्यो बेला कम्युनिष्ट पार्टीको भारतको दरभंगामा सम्मेलन भएको थियो, त्यसलाई कम्युनिष्ट पार्टीको प्लेनम भनिन्थ्यो। त्यो प्लेनममा उहाँ र त्यो बेला जिउँदो सहिद भनिने मित्रलाल सुवेदी जानु भएको थियो।

नेकपा नेता गुरु बराल।

सुराकीहरुले उहाँहरु दरभंगा गएर फर्किएको थाहा पाएछन्। त्यसपछि उहाँहरुलाई धनकुटा र तेह्रथुमको सिमानामा पर्ने छथरमा सुरक्षाकर्मीले पक्राउ गरे। उहाँसँग अन्य केही पक्राउ परेका थिए। ती सबैलाई त्यहाँबाट धनकुटा ल्याइयो।

पञ्चायतले आफ्नो नीति अनुसार उहाँलाई फकाउने र धम्क्याउने काम गर्यो। तर उहाँ पञ्चायतसँग झुक्न पनि तयार हुनु भएन र राजनीतिक गोपनीयता भंग गर्नसमेत तयार हुनुु भएन। उहाँ नझुक्ने देखेपछि पञ्चायतले उहाँलाई कडा र मूल्यमान्यताचमा रहने नेताका रुपमा विश्लेषण गरेछ। त्यसपछि जेल सार्ने भने धनकुटाबाट हिले, जोरपाटी, सिँधुवा हुँदै त्यो भन्दा माथि भालुखोप भन्ने ठाउँमा पुर्याइएछ।

त्यहाँ खोला पनि थियो। खोलाको छेउमा पुर्याएपछि केही मानिसहरु भात पकाउने वहाना गर्न थालेछन्। केही मानिसले उहाँलाई घिसार्दै नजिकै खोल्सामा लगेर गोली हानि हत्या गरेछन्। र शवलाई त्यत्तिकै फालेर आएछन। पञ्चायतले यो कुरा गोप्य नै राखेको थियो। त्यसको केही समयपछि केही केही ठाउँमा कैदा भाग्न खोज्दा मारियो भन्ने हल्ला फिँजाएछन।

कैदी मारिएको हल्लापछि नेत्र गुरागाईँको जीवन तलमाथि पो पारेकी के हो भनेर परिवारका सदस्यले पनि खोज्न सुरु गरे। त्यही क्रममा नेत्र गुरागाईँका आफन्त पुशपति गुरागाईँले तेह्रथुमको म्याङलुङ बजारमा यो पञ्चायत कस्तो हो कि सास दिनु पर्यो कि लाश चाहियो। यस्तो पनि हुन्छ भनेर चिया पसलमा कुरा गर्नु भएछ। संयोगले त्यँहा एक जना धामिर्कक प्रवृत्तिको सिभिलमा प्रहरी पनि रहेछन्।

त्यसपछि उनले पशुपति गुरागाईँलाई हाले इशारा गरेरे बोलाएर सबै कुरा सुनाएछन्। त्यसपछि रातिको समयमा गोप्य रुपमा गोली हानेर हत्या गरिएको ठाउँमा पुग्दा शव कुहिइएको रहेछ। उहाँले लगाएको जुत्ता र ज्याकेटको आधारमा उहाँको पहिचान भयो र परिवारले शवको अवशेष ल्याएर अन्तिम संस्कार गर्यो।

उहाँको विवाह भएको थियो तर सन्तान थिएनन्। अहिले त उहाँको श्रीमती र आमा पनि हुनुहुन्न। अहिले नेत्र गुरागाईँको नाममा एउटा प्रतिष्ठान खुलेको छ। त्यसले उहाँको सम्मानमा कार्यक्रम गर्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *