बहुप्राविधिक कलेजले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्छ : मुख्यमन्त्री पोखरेल
दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बहुप्राविधिक कलेज सञ्चालनले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताए । दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)को बुधबार उद्घाटन गर्दै उनले मेट्रो कलेजलाई नमूना बनाउने तयारी भएको बताए।
उनले भने, “अहिले उद्घाटन गरेको त न्वारान गरेको मात्रै हो, यो शिक्षालयलाई हामीले नमूना बनाउने योजना बनाएका छौँ ।” त्यसका लागि प्रदेश नं ५ सरकारले यस वर्ष १० करोड सहयोग गर्ने उनको भनाइ थियो । मुख्यमन्त्री पोखरेलले अहिले जनशक्ति विदेश गइरहेको तर नेपालमा दक्ष जनशक्ति बाहिरबाट ल्याउनुपर्ने अवस्था छ भन्दै अब नेपालको जनशक्तिलाई नेपालमै दक्ष बनाउने कार्य यो शिक्षालयले गर्नुपर्छ भने ।
प्रदेश नं ५ मा सिमेन्ट उत्पादनको केन्द्र बन्ने र सोहीअनुसार प्रदेश सरकारले प्रक्रियालाई अघि बढाएको भए पनि सिमेन्टमा काम गर्न सक्ने दक्ष जनशक्ति नेपालमा नहुँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो । त्यसैले सानातिना प्राविधिक सीपहरु पनि प्राविधिक शिक्षालयले दिनुपर्ने उनको धारणा थियो ।
तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको पशुपति मावि हरिपौराको जग्गामा उक्त शिक्षालय निर्माण गरिएको छ । हाल वन विज्ञान पढाइरहेको भए पनि भविष्यमा कृषि, पशु, होटल म्यानेजम्यान्टलगायतका विषय पठनपाठन गर्नेगरी तयारी थालेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए।
अहिले वन विज्ञानमा ४० विद्यार्थी अध्ययन गरिरहेका छन् । दश वर्षभित्र पाँच हजार विद्यार्थी पढ्न सक्नेगरी पूर्वाधार निर्माण गर्न तयारी थालेको नगरप्रमुख पाण्डेको भनाइ थियो । त्यसका लागि ३० देखि ५० करोडसम्म लगानी लाग्ने र सोही स्थानलाई प्राविधिक शिक्षालयको केन्द्रका रूपमा विकास गर्न विज्ञ टोलीलाई जिम्मा दिएको नगरप्रमुख पाण्डेले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य कोमल ओली, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, नेकपाका नेता टोपेन्द्र केसी, समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि रिजाल, तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विश्वकर्मालगायतले धारणा राखेका थिए ।
Facebook Comment