आज यी स्थानीय तहमा सार्वजनिक विदा

डिसी नेपाल
१० माघ २०७६ ६:३८

काठमाडौं । सरकारले शुक्रबार (आज) सार्वजनिक विदा दिएको छ।

बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा विदा दिने निर्णय गरेको हो।

प्रदेश सरकारले दिएको विदा उपत्यकाभित्रका तीन जिल्लाबाहेक अन्यमा लागू हुने गरेको भएपनि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका १३ वटै जिल्लामा विदा लागु हुने बताएका छन् ।

यसअघि गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद् बैठकले उपत्यकाबाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको विदा लागू हुने निर्णय गरेको थियो।

काठमाडौँमा बिदा हुन्छः कानूनमन्त्री

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले माघ १० गते प्रदेशका १३ वटै जिल्लाका सरकारी तथा सार्वजनिक निकायमा बिदा हुने बताएका छन् ।

हामीसँग कुरा गर्दै मन्त्री जम्कट्टेलले काठमाडौँ उपत्यका पनि वाग्मती प्रदेशकै हिस्सा भएकाले त्यहाँ बिदा नहुने भन्ने भनाइ गलत भएको स्पष्ट पारे ।

उनले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ल्होछार (ल्हासार) का अवसरमा यही शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने भनी गरेको निर्णय अनिवार्य लागू हुने बताए ।

“यो वा त्यो जिल्ला होइन, प्रदेशका १३ वटै जिल्लामा बिदा हुन्छ, उपत्यका (काठमाडौँ) पनि वाग्मती प्रदेशभित्रै पर्छ”, उनले भने।

त्यस्तै तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा सिरहाको धनगढीमाई नगरपालिकाले पनि आज सार्वजनिक विदा दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले यसअघि नै विज्ञप्ति जारी गर्दै माघ ११ गते शनिबार सोनाम ल्होसार पर्व परेकाले अघिल्लो दिन बिदा दिइएको जानकारी दिएका थिए ।

सोनाम ल्होसार पर्वका अवसरमा शुक्रबार नगरपालिका र वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयमा बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ।

यस नगरक्षेत्रमा तामाङ समुदायको बसोबास रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *