मेलबर्नको लगातार तेस्रो हार

डिसी नेपाल
११ माघ २०७६ १७:२८

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा लगातार तेस्रो हार व्यहोरेको छ। मेलबर्न क्रिकेट ग्राउण्डमा शनिबार भएको खेलमा स्टार्स ब्रिसबेन हिटसँग ७१ रनले पराजित भएको हो।

ब्रिसबेन हिटले जितका लागि दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको स्टार्सले १७.४ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनायो। मेलबर्नका पिटर ह्याण्ड्सकम्बले २७ रन बनाए भने निक लार्किनले २२ रन बनाए। हिटका मिचेल स्वीपसनले ३ विकेट लिए। यस्तै मुजिब उर रहमान र जेम्स प्याटिनसनले २–२ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको ब्रिसबेनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो। ब्रिसबेनका लागि एबी डी भिलियर्सले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान क्रिस लिनले ३४ रन बनाए ।

मेलबर्नका लागि एडम जाम्पाले ३ विकेट लिए । सन्दीपले ४ ओभरमा १६ रन खर्चिएर १ विकेट लिए । यससँगै सन्दीपले यस सिजन १३ खेलमा १५ विकेट हात पार्न सफल भएका छन् ।

मेलबर्न १४ खेलमा १० जितसहित २० अंक जोडेर शीर्ष स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *