मुख्यमन्त्री कप प्रदेशस्तरीय फुटबल : आदर्श, होराइजन र भीमाद विजयी

डिसी नेपाल
११ माघ २०७६ २१:५७

कास्की । पोखरामा यही माघ ७ गतेदेखि सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा कास्कीको आदर्श, स्याङ्जाको होराइजन र तनहुँको भीमाद क्लब विजयी भएका छन् ।

प्रदेश लिग कमिटीको आयोजनामा पोखरा महानगरपालिका–२७ भण्डारढीकमा रहेको फुटबल रङ्गशालामा भएको शनिबारको पहिलो खेलमा आदर्श क्लबले लमजुङको त्रिवेणी क्लबलाई १–० गोलअन्तरले पराजित गरी सेमिफाइलनमा प्रवेश गरेको छ ।

खेलको २१औँ मिनेटमा सुमित श्रेष्ठले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । समूहका तीनवटै खेलमा शतप्रतिशत जित निकालेको आदर्श समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

त्यसैगरी आजको दोस्रो खेलमा स्याङ्जाको होराइजन क्लबले म्याग्दी जिल्ला फुटबल सङ्घलाई १–० गोलअन्तरले पराजित गर्न सफल भयो । खेलको १८औँ मिनेटमा विशाल मल्लले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । अन्तिम खेलमा तनहुँको भीमाद क्लबले नवलपुरको गैँडाकोट खेलकूद विकास समितिलाई २–१ को नतिजामा पराजित गर्दैै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

नवलपुरले आशिष महतोको गोलमार्फत खेल शुरु भएको चौथो मिनेटमा अग्रता बनाए पनि दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन । खेलको ५१औँ मिनेटमा विनोद घिमिरेले गोल गर्दै खेल बराबरीमा ल्याए भने ७६औँ मिनेटमा प्रदीप थापाले निर्णायक गोल गर्दैै टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाउन सफल भए ।

लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा समूहका विजेता तथा उपविजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल १३ तथा १४ गते प्रतियोगिताको फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा विजेतालाई रु पाँच लाख तथा उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट डिफेन्स, गोलकिपर, सर्वाधिक गोलकर्ता, मिडफिल्डर र प्रशिक्षकलाई समेत जनही रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *