ट्यांकर चालकले रोके हवाई इन्धनको ढुवानी

डिसी नेपाल
११ माघ २०७६ २२:२०

काठमाडौं। ट्यांकर चालकहरुले हवाई इन्धनको ढुवानी रोकेका छन्। आयल निगमले आफ्ना माग पुरा नगरेको भन्दै भारतबाट हुने हवाई इन्धनको ढुवानी रोकिएको हो।

चालक र निगमबीच शुक्रबार भएको वार्तामा सहमति नजुटेपछि शनिबारबाट ढुवानी रोकिएको हो। चालकहरुले प्राविधिक कारणबाट हुने चुहावटको सीमा सम्बन्धि व्यवस्था खारेज गर्नुपर्ने लगायतका ८ बुँदे माग राखेका छन्।

निगमले भने तेलको चोरी रोक्न गरिएको व्यवस्था खारेज गर्न नसकिने बताएको छ। ५० लिटरभन्दा धेरै चुहावट भए चालकले त्यसको दोब्बर क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ। सो व्यवस्था खारेज गर्नुपर्ने ट्यांकर चालकहरुको माग छ।

यसअघि चालकहरुले तेल चोरी गरेका घटनाहरु बढेपछि निगमले कडाईँ गरेको थियो। निगमले कडाईँ गरेपछि चालकहरुले विभिन्न बाहाना बनाएर आन्दोलन गर्दै आएका छन्।

तत्काल हवाई इन्धनको आपूर्ति सुचारु नभए इन्धनको अभाव देखिने जनाइएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक करिब ५ लाख लिटर हवाई इन्धनको माग छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *