अग्नी सापकोटाविरुद्धको रिटमा आज सुनुवाइ नहुने

डिसी नेपाल
१२ माघ २०७६ १२:४९

काठमाडौं। अग्नी सापकोटालाई सभामुख नबनाउन माग गर्दै परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । रिट आज न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको थियो । फयाँलले यो रिटमा आफूले सुनुवाइ गर्न नमिल्नै भन्दै सुनुवाइ गर्न अस्वीकार गरेपछि रिटमाथि आज सुनुवाइ नहुने भएको हो ।

शुक्रबार दायर भएको उक्त रिटमा काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेकाले सापकोटालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन आदेश दिन माग गरिएको छ । उनीमाथि लागेको हत्या आरोपसम्बन्धी विभिन्न रिट अदालतमा विचाराधीन भएकाले पनि उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दिएका हुन् ।

पहिले अधिवक्ता रहेका न्यायाधीश फुयाँलले त्यतिबेला एक मुद्दामा अग्नी सापकोटाको पक्षबाट बहस गरेका थिए । त्यो मुद्दा अझैसम्म विचाराधीन छ । पहिले न्यायाधीश फुयाँलले सापकोटाको पक्षमा बहस गरेको रिट र अहिलेको रिट फरक फरक व्यक्तिले हालेको भए पनि दुवै रिटमा सापकोटालाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको छ ।

एउटै माग भएकोले पहिले मागका विपक्षमा बहस गरिसकेका फुयाँलले त्यही माग भएको अर्को रिटमा न्यायसम्पादन गर्न नमिल्ने भन्दै सुनुवाइ अस्वीकार गरेका हुन् । आज ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *