२१ महिनापछि नेकपा केन्द्रीय कमिटी बैठक बुधबारदेखि
काठमाडौं। लामो समयपछि सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटीको बैठक बुधबार बस्दैछ। माघ १५ देखि २० गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकमा आमन्त्रित नेतासहित ४४७ जना नेता सहभागी हुनेछन्।
सत्तारुढ नेकपाको पार्टी एकतापछि पहिलोपटक केन्द्रीय विधानतः ६/६ महिनामा बस्नुपर्ने बैठक नेकपाले २१ महिनासम्म पनि नबोलाएको भन्दै नेतृत्वको आलोचना हुँदै आएको थियो। तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो।
‘ केन्द्रीय समिति बैठक बस्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ’, सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले भने। उनले आफू केन्द्रीय कमिटीको तयारीमा जुटिरहेको बताएका थिए।
गत मंसिर २९ देखि पुस ६ सम्म बसेको पार्टी स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक २३ पुसबाट बोलाउने निर्णय गरेको थियो। तर २० पुसको सचिवालय बैठकले राष्ट्रिय सभा चुनाव, सभामुख चयन प्रक्रिया लगायतका कारण देखाउँदै बैठक माघ १५ सम्मलाई सार्ने निर्णय गरेको थियो। पार्टीमा केन्द्रीय सदस्यको संख्या ठूलो भएपछि राष्ट्रियसभा गृहमा बैठक हुने छ। पार्टीले पाँच दिनका लागि सभागृह बुकिङ गरिसकेको छ।
बैठकमा अध्यक्षद्वयले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिवले प्रस्तुत गर्ने विधान संशोधन प्रस्ताव र समसामयिक प्रस्तावका विषयमा पार्टी नेताबीच समूह विभाजन गरी छलफल गराउने तयारी अध्यक्षद्धयले गरेका छन्।
Facebook Comment