‘यो सरकारको नियत नै ठिक छैन’
काठमाडौं। चुनाव अगाडि देखिनै कम्युनिष्ट पार्टीको सरकार बने अधिनायकवाद आउने बताएको काँग्रेस पछिल्ला दिनहरुमा वर्तमान नेकपा नेतृत्वको सरकारप्रति आक्रामक देखिन थालेको छ।
खास गरी सरकारले एकपछि अर्को नियन्त्रमुखी कानुन बनाउने प्रयास गरेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेस सरकारप्रति आक्रामक भएको हो।
सरकारले पछिल्लो पटक ल्याएको सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विशेष सेवा गठन सम्बन्धि विधेयकमा प्रमुख प्रतिपक्षी दल काँग्रेस आक्रामक बनेको हो।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो सरकारको नियत नै ठिक नभएको बताए। मंगलबार काठमाडौंमा प्रेस युनियनले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता पौडेल सरकारमाथि खनिए।
उनले पछिल्लो दुई वर्षमा यो सरकारले गरेका गतिविधि नियन्त्रणमुखी रहेको जिकिर गरे। उनले विशेष सेवा गठन विधेयक र सूचना प्रविधि विधेयक संविधानको मर्म विपरित आएको तर्कसमेत गरे।
उनले लोकतन्त्रका लागि काँग्रेसले लामो लडाईँ लडेको भन्दै फेरि लोकतन्त्रकै लागि लड्नुपर्ने अवस्था आएको बताए।
यस्तै राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे पनि सरकारमाथि खनिए।
उनले आफ्नो दुई वर्षे कार्यकालको अनुभव सुनाउँदै यो सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए। उनले भने, ‘नेपालमा अहिले नेकपाको सरकार हो की नेकपाको सत्ता हो भन्ने विरोधाभास देखिएको छ।
व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र हो। तर, सरकार भने कम्युनिष्ट व्यवस्था जस्तै अगाडि बढिरहेको छ। यो सरकारको नियत नै ठिक छैन।’
उनले सरकारले ल्याएको विधेयकहरु सकेसम्म काँग्रेस रोक्ने बताए। उनले संसदीय मर्यादामै रहेर विरोध गरिने भन्दै कुर्सि भने नभाँच्ने बताए।
यस्तै कानुनविद् सुनिल पोखरेलले सरकारले पछिल्लो समय ल्याएका विधेयकहरु संविधानसँग बाझिएको बताए। उनले विशेष सेवा गठन विधेयक सबैभन्दा खतरनाक रहेकोसमेत जिकिर गरे।
उनले सूचना प्रविधि विधेयक र मिडिया काउन्सिल विधेयक संविधानमा राखिएको अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताको बर्खिलापमा आएको बताए।
उनले सूचना प्रविधि विधेयकमा व्यवस्था गरिएको विशेष अदालत पनि संविधानसँग बाझिएको बताए। उनले कानुनको सिद्धान्तअनुसार एक वर्षभन्दा धेरै सजाय हुने कसुरमा नियमित अदालतबाटै न्याय निरुपण गर्नुपर्ने भए पनि सूचना प्रविधि विधेयक फौजदारी संहिता जसरी आएको बताए।
उनले विशेष सेवा गठन विधेयक, मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि सम्बन्धि विधेयकमा केही कुराहरु एकआपसमा मिसाएर राखिएको दावी समेत गरे। उनले भने सूचना प्रविधि विधेयकमा फोन ट्यापिंगको कुरा रहेको र सोही कुरा विशेष सेवा गठन विधेयकमा पनि रहेको बताए।
वरिष्ठ पत्रकार नेपालका महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारको मात्र नभएर आम नागरिकको सरोकारको विषय रहेकाले यो विषयमा सबैले बोल्नुपर्ने बताए। कार्यक्रममा फरक प्रसंगमा पनि नेताहरुले आफ्नो धारणा राखे। काँग्रेस नेताहरुले पार्टीको आन्तरिक विषयमा पनि कुरा गरे।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अब महाधिवेशन केन्द्रित भएर अगाडि बढ्ने बताए। उनले काँग्रेसले लोकतन्त्रका लागि अरुसँग लड्नुपर्ने बेला आफ्नो पार्टी भित्रै पनि लड्नुपरेको दुःख पोखे। उनले पार्टीको महाधिवेशन स्वच्छ र भयरहित वातावरणमा हुनुपर्ने धारणा समेत राखे।
यस्तै राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभामा प्रतिपक्षी दलको कुर्सिको अघिल्लो लाइनमा बस्ने नेताहरुले नबोलेकाले प्रतिपक्षीले भूमिका नखेलेको सन्देश गएको बताए।
उनले भने, ‘संसदमा अरु नेताहरुले त बोलिरहनु भएको छ।, तर पार्टी सभापति, महामन्त्री, कोषाध्यक्ष, पूर्व महामन्त्रीहरु, दलका उपनेता कसैले नबोल्दा प्रतिपक्षीको भूमिका कमजोर भए जस्तो देखिएको छ।’
Facebook Comment