संसद्को प्रतिष्ठा उच्च बनाउन भगिरथ प्रयत्न गर्नेछु : सभामुख सापकोटा
काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रतिष्ठा उच्च बनाई राख्न आफ्नो भगिरथ प्रयत्न रहने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आफू सभामुख पदमा निर्वाचित भएकामा बधाई तथा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण सांसदप्रति आभार प्रकट गर्दै उनले सदनलाई सफलताका साथ सञ्चालन गर्न हरसम्भव प्रयासरत रहने उल्लेख गरे।
उनले सदनको कामकारवाही अगाडि बढाउन सबै राजनीतिक दल र सांसद सदस्यबाट सदैव सकारात्मक सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन् यसैगरी, प्रतिनिधिसभाको मंगलबारको बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामसमेत मनोनयन गरेको छ । बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए भने सो प्रस्तावलार्ई बैठकको सर्वसम्मतिले अनुमोदन गरेको छ ।
अध्यक्षता गर्ने सदस्यहरुमा उमाशङ्कर अरर्गरिया, चन्द्रकान्ता चौधरी, डा डिला सङ्ग्रौला, मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा र सोमप्रसाद पाण्डे रहेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १७ गते बिहान ११ बजे बस्नेछ ।
Facebook Comment