मुख्यमन्त्री कप प्रदेशस्तरीय फुटबलको उपाधि लमजुङको त्रिवेणीलाई

डिसी नेपाल
१४ माघ २०७६ २२:२८

कास्की । लमजुङको त्रिवेणी युवा क्लबले पोखरामा सञ्चालन भएको मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय लिग फुटबलको उपाधि जितेको छ । माघ ७ गतेदेखि पोखरा महानगरपालिका–२७ भण्डार ढिकमा रहेको फुटबल रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा कास्कीको आदर्श युवा क्लबमाथि २–० को जित निकाल्दै त्रिवेणीले उपाधिसहित रु पाँच लाख पुरस्कार जित्न सफल भयो । उपविजेता बनेको आदर्शले रु तीन लाखमा चित्त बुझायो ।

त्रिवेणीले खेलको पहिलो हाफको १५औँ मिनेटमा अश्विन गुरुङको गोलमार्फत अग्रता बनाएको थियो भने ४९औँ मिनेटमा नवराज गुरुङले गोल गरी अग्रता दोब्बर पारे । घरेलु टोली आदर्शले केही गोल गर्ने मौका पाए पनि खेलको ‘म्यान अफ दी म्याच’ घोषित विपक्षी टोलीका गोलकिपर आकाश रानाभाटले उत्कृष्ट बचाउ गरे । प्रतियोगिताको उत्कृष्ट गोल रक्षकमा त्रिवेणीका रानाभाट, डिफेण्डरमा त्रिवेणीकै अञ्जन देवकोटा, मिडफिल्डर आदर्श क्लबका सुमित श्रेष्ठ र उत्कृष्ट फरवार्ड त्रिवेणीका नवराज गुरुङ घोषित हुँदै जनही रु पाँच हजार तथा ट्रफी पुरस्कार प्राप्त गरे ।

सर्वाधिक गोलकर्तामा त्रिवेणीका नवराज गुरुङ, आदर्शका सूर्यमान थापामगर र होराइजन क्लब स्याङ्जाका शरदकुमार क्षेत्री हुन सफल भएका थिए। प्रदेशस्तरीय लिग फुटबल सञ्चालन गर्ने अखिल नेपाल फुटबल सङ्घ(एन्फा) को नयाँ कार्यविधि अनुसार गण्डकी प्रदेशमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको थियो ।

विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कार वितरण गरेका थिए ।

विजेता टोलीले प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने र प्रदेशस्तरमा च्याम्पियन टोलीले राष्ट्रिय लिगमा समावेश गराउने एन्फाको योजना रहेको बताइन्छ । लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा कास्कीको आदर्श तथा लमजुङको त्रिवेणीसहित गोर्खाको बौद्ध हिमाल, मनाङको डाँफे युवा क्लब, स्याङ्जाको होराइजन क्लब, तनहुँको भीमाद क्लब, गैँडाकोट खेलकूद विकास समिति नवलपुर, बागलुङ जिल्ला फुटबल सङ्घ र म्याग्दी जिल्ला फुटबल सङ्घले उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *