यू१९ विश्वकपः भारत सेमिफाइनलमा

डिसी नेपाल
१४ माघ २०७६ २२:३५

एजेन्सी । दक्षिण अफ्रिकामा जारी यू१९ एक दिवसिय विश्वकप प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ७४ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया ४३.३ ओभरमा १ सय ५९ रनमा अल आउट भयो ।

पहिलो ओभरमै शीर्षक्रमका प्रमुख तीन ब्याट्सम्यान गुमाएको अस्ट्रेलियालाई ओपनर साम फनिङ्गले १ सय २७ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ७५ रन जोड्दै इनिङ उकासेका थिए । लियाम स्कर्ट ३५ र प्याट्रिक रोवेले २१ रन जोडे ।

भारतीय बलरको उत्कृष्ट बलिङ सामु अस्ट्रेलियाका ८ खेलाडीले दोहोरो अंक छुन सकेनन् । भारतका कात्तिक त्यागिले ८ ओभरमा २४ रन खर्चेर ४ विकेट लिदै म्यान अफ द म्याच चुनिए । आकश सिंहले ३ र रबि विश्रोइले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो । उसका ओपनर यशस्वी जैसवालले ८२ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ६२ रनको योगदान दिए । अथर्व आकोलेकर ५४ बलमा ५ चौका र १ छक्का सहित ५५ रनमा अविजित रहे । रबि विश्रोइ ३० र सिद्धेश वीर २५ रनमा आउट भए । अस्ट्रेलियाका कोरी केली र टोड मर्फीले २–२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *