डिम्पल झाको राजीनामा पछाडि अनिल झाको मन्त्री बन्ने दाउ !
काठमाडौं। केन्द्र सरकारमा सहकार्य गर्ने विषयमा नेकपासँग छलफल भइरहेका बेला दुई नम्बर प्रदेशको भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पल झाले राजीनामा दिएपछि प्रदेश नम्बर दुईमा सत्ता समिकरण परिवर्तनको संकेत देखिएको छ।
राज्यमन्त्री झाले प्रदेश सरकारको कामकाजप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी थिइन्। दुई नम्बर प्रदेशमा समाजवादी पार्टीको नेतृत्वमा राजपा सम्मिलित सरकार छ। राजीनामा दिएको राज्यमन्त्री झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन्।
मंगलबार राज्यमन्त्री झाले उपभोक्ता समितिमार्फत गराएको कामको रकम भुक्तानी नगरको र उपभोक्ताको अत्याधिक दबाव आएको बताउँदै राजीनामा दिएकी थिइन्।
स्रोतका अनुसार राज्यमन्त्री झाले मुख्यमन्त्रीको रवैया र भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी हुन्।
‘उहाँले मुख्यमन्त्रीको रवैया र लाइन मिनिस्टरको कामप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनु भएको हो,’ स्रोतले भन्यो, ‘तर त्यसका पछाडि उहाँको क्याबिनेट मन्त्री बन्ने योजना छ।’
अहिले केन्द्र सरकारमा राजपा सहभागी हुने चर्चा छ। यदि केन्द्रमा राजपा सहभागी भयो भने प्रदेश सरकारको समीकरणपनि परिवर्तन हुन सक्ने र प्रदेशको समीकरण परिवर्तन भयो भने आफू क्याबिनेट मन्त्री बन्ने दाउमा झाले राजीनमा दिएको बताइएको छ। ‘उहाँको राजीनामाले केही राजनीतिक अर्थ राख्छ,’ स्रोत भन्छ, ‘उहाँ राजपा अध्यक्ष मण्डलका सदस्यका नेताकी श्रीमती पनि हो नी!’
स्रोतका अनुसार राजपा अध्यक्ष मण्डल सदस्य अनिल झाको आग्रहमा डिम्बलले राजीनामा दिएकी हुन्। डिम्पललाई राजीनामा गराएर केन्द्र सरकारमा आफू मन्त्री बन्ने योजना अनिल झाको रहेको बताइएको छ। अहिले राजपा र नेकपाबीच सहकार्य सुरु भएको छ।
नेकपाले उपसभामुख राजपालाई दिने बताइसकेको छ। अब केही समयपछि राजपा केन्द्र सरकारमा सहभागी हुने तयारी भइरहेका बेला अनिल झाले आफू केन्द्रमा मन्त्री बन्ने योजनासहित श्रीमतीलाई राज्यमन्त्रीबाट राजीनामा दिन लगाएको स्रोतले दाबी गरेको छ।
‘केन्द्र सरकारमा राजपा पनि सहभागी हुने चर्चा छ, यदि केन्द सरकारमा राजपा सहभागी भयो भने आफू मन्त्री बन्ने योजनासहित डिम्पल झालाई राजीनामा दिन लगाएका हुन्,’ स्रोतले भन्यो, ‘त्यो संभव नभए दुई नम्बर प्रदेशमै डिम्पल झालाई मन्त्री बनाउने उहाँका आकांक्षा छ।’
तर दुई नम्बर प्रदेशको समीकरण फेर्ने विषयमा राजपाभित्र दुई धार रहेको छ। राजेन्द्र महतो शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा नेकपासँग गठबन्धन गरेर जानुपर्ने पक्षमा छन्।
तर राजपा अध्यक्ष मण्डलका अध्यक्ष महेन्द्र राय यादव भने समाजवादी पार्टीसँगको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा छन्। उनी मुख्यमन्त्री परिवर्तन गरेर फोरमसँगै सहकार्य गर्नु पर्ने पक्षमा यादव रहेका छन्। यो विषयमा महन्थ ठाकुर भने मौन छन्।
Facebook Comment