कतारमा नयाँ प्रधानमन्त्री नियुक्त
दोहा । कतारमा मंगलबार नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीले नयाँ प्रधानमन्त्रीको रुपमा शेख खालिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीलाई नियुक्त गरेको सरकारी सञ्चार माध्यम कतार न्युज एजेन्सीले जनाएको छ ।
यसअघि कतारको प्रधानमन्त्री शेख अब्दुल्लाह बिन नासेर बिन खलिफा अल–थानी रहेका थिए । उनले मंगलबार राजीनामा पेश गरेका थिए। उनको राजिनामालाई अमिरले स्विकार्दै नयाँ प्रधानमन्त्रीमा शेख खालिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीलाई नियुक्त गरेका हुन् ।
नवनियुक्त प्रधानमन्त्री यसअघि कतारी राजाको कार्यालयमा प्रमुख थिए। अमेरिकामा शिक्षा हासिल गरेका उनले ग्यास उद्योगमा काम गरिसकेका छन् ।
पूर्व प्रधानमन्त्री शेख अब्दुल्लाले आफ्नो कार्यकालमा सहयोग पुर्याउने राजासँगै अन्य सबैलाई ट्विटर मार्फत धन्यवाद दिएका छन् ।
Facebook Comment