नेकपा केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीद्वारा सरकारको कामको फेहरिस्त

डिसी नेपाल
१५ माघ २०७६ १४:३५

काठमाडौं। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गरेका छन्।

बुधबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले सरकार विरुद्ध प्रचार युद्ध मात्रै नभई आक्रमण नै डरलाग्दो गरी छेडिएको गुनासो गरे।

उनले सरकार विरुद्धको आक्रमणको वादविवाद नगरी काम गरेर जवाफ दिने बताए। ‘हाम्रा विरुद्ध प्रचार आक्रमण डरलाग्दो गरी छेडिएको छ। तर हामी वाद विवादबाट होइन, हाम्रा उपलब्धि र नतिजाबाट जवाफ दिँदै आएका छौं,’ उनले भने।

लामो सम्बोधनको अधिकांश समय सरकारका कामको प्रतिरक्षामा खर्चिएका प्रधानमन्त्री ओलीले बैचारिक आग्रह पूर्वाग्रहबाट सरकारको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने गरिएको दाबी गरे।

उनले भने, ‘लोकतन्त्रप्रति हाम्रो निष्ठाको सवालमा प्रश्न उठाउने गरिएको छ। हाम्रो पार्टीको नामको कारणले कतिमा वैचारिक पूर्वाग्रह पनि हुन सक्छ। तर हामी पूर्वाग्रहभन्दा माथि उठेर २१ औं शताब्दीमा मानवजातिले प्राप्त गरेको उपलब्धि, मूल्य मान्यताको कसीमा आफूलाई प्रस्तुत गर्न चाहन्छौं।’

उनले लोकतन्त्रलाई अगाडि बढाउँदै न्याय र हकअधिकारसम्मको पहुँच सबैका लागि सुरक्षित गर्दै शान्तिपूर्ण, आधुनिक र सम्मानयुक्त समाज निर्माणमा सरकार अघि बढेको जनाए। उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालगायत विषयमा सरकार विरुद्ध आवाज उठाउनुको कुनै अर्थ नरहेको दाबी गरे।

उनले भने, ‘हाम्रा बारेमा प्रेस स्वतन्त्रता वा स्वतन्त्रताका हकका बारेमा प्रश्न उठ्नु वास्तवमा निर्रथक कुरा हो।’  नेपाली कांग्रेस, नेकपा तथा विभिन्न समूहले विभिन्न विषय र सन्र्दभमा समय समयमा हतियार उठाएको भएपनि नेपालको राजनीति शान्तिपूर्ण बाटोमा आएको र आधारभूत सहमतिका साथ अगाडि बढ्ने बाटोमा अघि बढेको उनले दाबी गरे।

अन्तर्राष्ट्रिय मूल्य मान्यता र राजनीतिक प्रणालीका लोकतान्त्रिक विशेषतालाई जनताको जनवाद भनेर नामाकरण गरिएको भन्दै उनले सार्वभौमसत्ता जनतामा रहेको व्यवस्था र शक्ति पृथकिकरणको व्यवस्था अनुरुप जाने ढंगले अगाडि बढेको उल्लेख गरे।

कोही पनि भोकै नपरोस् भन्ने तर्फ सरकार सजग र सर्तक भएको भन्दै उनले सोही अभियान अनुसार काठमाडौंका सडक मानवरहित भएको बताए।

उनले भने, ‘सडक मानव हुन दिएका छैनौं। सडक बालबालिकाको अन्त्य गरेका छौं। कोही पनि भोकै मर्ने स्थितिको अन्त्य गरेका छौं। सम्मृद्धि हासिल गर्ने बाटोमा, विकासको बाटोमा, सुशाासन कायम गर्ने बाटोमा, भ्रष्टाचार रोक्ने बाटोमा र भ्रष्टाचार नियन्त्रण गर्ने बाटोमा हामी छौं। सम्पूर्ण पूर्वाधारको आधार तयार भइसक्यो भन्ने होइन।’

नेपाल भ्रमण वर्ष २०२० लाई कोरोना भाइरसको संक्रमणले केही प्रभावित पार्ने देखिएको उल्लेख गर्दे सरकारले आवश्यक सावधानी अपनाउने जनाए। उनले भने, ‘हिजो संसदमा मैले सन् २०२० मा नेपाल भ्रमण वर्षको सुरुवातमा कोरोना भाईरसतिर संकेत गर्दै यो प्रयासमा धक्का पर्न जाने जस्तो देखियो भनेर भनेको थियो त्यो कसले कसरी बुझ्यो।’

कालापानी लिम्पियाधुरा, लिपुलेक लगायत क्षेत्रमा सिमा विवाद देखिएको भएपनि वार्तामार्फत समस्या समाधान गर्ने विश्वासका सरकारले भारतसँग छलफल अघि बढाएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीपछि बोलेका विपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले कस्तो धक्का के को धक्का भनी प्रश्न गरेका थिए।

केन्द्रीय समितिको दोश्रो बैठक अस्वभाविक ढंगले विलम्ब हुन गएको भन्दै उनले सरकारको कारणले वा प्रधानमन्त्रीले समय दिन नसकेकाले बैठक बिलम्ब भएको भ्रम नराख्न आग्रह गरे।

विभिन्न कारणले बैठक बस्न ढिलाई भएको र भविश्यमा यस्तो किसिमको ढिलाई नहुने कुरामा आफू विश्वस्त रहेको उनले उल्लेख गरे। केन्द्रीय समितिको दोश्रो बैठक भएपनि बैठकको रुपमा सञ्चालन हुने पहिलो बैठक भएको र यो बैठक विधिबत रुपमा सञ्चालन हुने विश्वास दिलाए।

सत्तापक्षको, विपक्षी दलको, विभाजन, एकताका विविध अनुभवहरु महसुस गर्दैै अहिलेको अवस्थामा आएको फेहरिस्त दिँदै उनले वर्तमान अवस्थामा भने पार्टी एकताबद्ध भएर उभिएको उल्लेख गरे।

पार्टी एकता आकस्मिक नभई अध्ययन अनुसन्धानपछि वैचारिक, सांगठनिक र व्यवहारिक आधार तयार गरेर त्यसलाई सम्मृद्ध बनाउँदै लैजाने प्रतिवद्धताका साथ पार्टी एकीकरण भएको बताए। उनले निर्वाचन पछि २ वर्षमा मुलुकले असाधारण प्रगती हासिल गरेको दाबी गरे।

‘आगामी दिनमा हामीले बैचारिक कुरालाई बैचारिक स्पष्टता विना गन्तव्यको स्पष्टता विना हामी अगाडि बढ्न पनि सक्दैनौं र गन्तव्यमा पुग्न पनि सक्दैनौं,’ उनले भने, ‘त्यसकारण वैचारिक स्पष्टताका लागि अध्ययन गर्नु र आँखा खोलेर विगतसँग टाँसिएर होइन, अहिलेको यथार्थसँग विश्लेषण गरेर अगाडि बढ्नुपर्छ।’

प्रधानमन्त्री ओलीले विश्वका कुनै पनि सूचकांकमा नेपाल नेगेटिभ नभएको दाबी गरे। विश्व बैकको व्यवसाय सम्बन्धी सूचकांकले नेपालको व्यवसायिक वातावरण गत वर्ष १० औं स्थानमा रहेको मा यस वर्ष ९४ औं स्थानमा रहेर १६ औं अंक माथि उक्लिएको उनले बताए।

मानव विकास सूचकांकमा नेपाल २ स्थान अघि बढेको, विश्व भोकमरीको सूचकांकमा अहिले नेपालको स्थिति सुधार भएको र ७३ औं स्थानमा पुगेको, शान्ति सुरक्षाको स्थित ग्लोबल पिस इन्डेक्समा नेपालले १२ अंकले सुधार गरी १ सय ६२ देश मध्ये नेपाल ७६ औं स्थानमा पुगेको, विधिको शासनमा नेपाल २ स्थान माथि उक्लिएको, भ्रष्टाचारमा ११ औं स्थान माथि उक्लिएको तथ्यांकको फेहरिस्त नै राखे।

त्यसैगरी उनले निर्यात २७ प्रतिशतले बढेको, आयातमा कमी आएको, भुक्तानी सन्तुलन बचतमा रहेको, उत्पादन र उत्पादकत्व बढेको तथा, धान, गहुँ र मकैको उत्पादान बढेको तथ्यांक नै प्रस्तुत गरे।

सडक निर्माण, पुल निर्माण लगायत भौतिक पुर्वाधारमा भएका काम, पानी जहाज कार्यालयको स्थापना, चितवनको नारायणी नदीमा क्रुज संञ्चालन भएको लगायतका विवरण पनि उनले प्रस्तुत गरे।

उनले उज्यालो अभियान अन्र्तगत कुल जनसंख्याको ८८ प्रतिशत जनसंख्यामा विद्यूत सेवा पुगेको उल्लेख गर्दै जलविद्युत् आयोजनाहरुको पछिल्लो अवस्था बारे पनि जानकारी गराए। सिँचाई सेवा, तटबन्ध निर्माण तथा डाइर्भसन, ५ वटा आन्तरिक विमानस्थलको धावनमार्ग निर्माण, जनता आवास कार्यक्रम अन्र्तगत भएका कामकारवाही लगायतको पनि विवरण दिए।

प्राविधिक शिक्षा, न्यायो स्याटलाईट, स्वास्थ्य विमा कार्यक्रमको विस्तारलगायतको फेहरिस्त पनि उनले प्रस्तुत गरे।  उनले सरकारका कामकारवाहीका सम्बन्धमा केही भ्रम र केही अन्यौलका कुराहरु आउने गरेको भएपनि सरकार त्यसलाई चिर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए।

कालापानी लिम्पियाधुरा, लिपुलेक लगायत क्षेत्रमा सिमा विवाद देखिएको भएपनि वार्तामार्फत समस्या समाधान गर्ने विश्वासका सरकारले भारतसँग छलफल अघि बढाएको प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिसँग जोड्नु आवश्यक नरहेको बताए। नेपालको सार्वभौमसत्ता र स्वाधिनतालाई एमसीसीले कुनै पनि असर नपार्ने र नेपाललाई होच्याउने, अपमान गर्ने कुरा सम्झौतामा नभएकाले यसबारे स्पष्ट हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरे।

सम्झौता कार्यान्वयनमा आउनु अगाडि संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान भएकाले सो अनुमोदनको क्रममा रहेको भन्दै उनले यसले नेपाललाई कुनै अप्ठ्यारो नपार्ने जनाए।

प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको जग्गा यती होल्डिङ्सलाई लिजमा दिने सवालमा सरकारले कुनै गल्ती नगरेको दाबी गरे। वर्तमान सरकारले कुनै भ्रष्टाचार नगरेको र नगर्ने भन्दै उनले यती होल्डिङ्सलाई लिजमा दिने काममा पनि सरकारले कुनै गल्ती नगरेको दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *