नेकपा महासचिब पौडेलले औंल्याएका नेकपाका १० बाँकी काम के हुन्?

डिसी नेपाल
१५ माघ २०७६ १७:४८

काठमाडौं। सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटी बैठक बुधबार राजधानीमा शुरु भएको छ। ४४६ सदस्यीय केन्द्रीय कमिटीको बैठक ६–६ महिनामा बस्नुपर्ने भए पनि २०७५ मा बनेको नेकपाको पहिलो पटक केन्द्रीय कमिटी बैठक बसिरहेको छ। यद्यपी यसलाई दोस्रो पूर्ण बैठक भनिएको छ।

बैठकको पहिलो दिन बुधबार अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने महासचिब विष्णु पौडेलले सांगठनिक प्रतिवेदन पेश गरेका छन्।

पहिलो दिन प्रतिवेदन पेश भए पनि ती प्रतिवेदनहरुमाथि छलफल भने शुरु भइसकेको छैन। महासचिब पौडेलले पार्टीको संगठन चलायनमान बनाउने विषयमा आफ्नो प्रतिवेदन केन्द्रित गरेका छन्। साथमा उनले नेकपा बनेपछि बाँकी रहेका विभिन्न ११ वटा कामको सूची पनि पेश गरेका छन्।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि जन्मिएको नेकपामा अझै धेरै संगठनहरु अधुरै छन्। पार्टीको पोलिट ब्युरोसमेत बन्न सकेको छैन।

पौडेलको नजरमा बाँकी रहेका पार्टीका कामः

१ पार्टीको विधानमा संशोधन गर्न आवश्यक देखिएको छ।

२ पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्न र कार्यालयका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न बाँकी छ।

३ जनप्रतिनिधि, राजनीतिक नियुक्ति प्राप्त व्यक्ति र पार्टीका नेता तथा कार्यकर्तालाई लेबी निर्धारण गर्न र पार्टीको चल अचल सम्पत्ति तथा लेखा प्रणालीलाई एकीकृत गर्न बाँकी छ।

४ प्रवासमा महादेश र देश विशेषमा प्रवासी नेपाली एकता मञ्च गठन गर्न बाँकी छ।

५ सम्पर्क मन्चका जिल्ला र पालिका तहहरु गठन गर्न बाँकी छ।

६ कतिपय जनवर्गीय संगठनको एकीकरण प्रक्रियालाई पूर्णता दिन बाँकी छ।

७ संगठन विभागबाहेकका केन्द्रीय विभागमा सदस्य मनोनित गर्न बाँकी छ।

८ केन्द्रीय निकायहरु, अनुशासन आयोगसहितमा रहने सदस्यहरुको टुंगो लगाउन बाँकी छ।

९ रिक्त केन्द्रीय सदस्य मनोनयन र पोलिटव्यूरो गठन गर्न बाँकी छ।

१० एकतापूर्वको पार्टी सदस्य र संगठित सदस्य संख्या यकीन गर्न र उनीहरुको अभिलेख अद्यावधिक गर्न र नवीकरण गर्न बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *