‘द भ्वाइस अफ’ नेपालका कोचले सधैं किन एउटै कपडा लगाउँछन् ? यस्तो छ कारण
काठमाडौं। हालै सुरु भएको रियालिटी शो द भ्वाइस अफ नेपालको ६ एपिसोड सकिइसक्यो। ६ एपिसोड सकिँदासम्म सबै कोचले पहिलो एपिसोडदेखि छैटौं एपिसोडसम्म एउटै कपडा लगाए। कोच दीप श्रेष्ठले नीलो सर्ट र कालो सुट, कोच अभया सुब्बाले कालोमा फुलबुट्टा भएको लेदरको ज्याकेट र ग्रन्च जिन्स पाइन्ट, कोच सनुप पौडेलले कलेजी टिसर्ट नीलो ज्याकेट तथा कोच प्रमोद खरेलले नीलो टिसर्ट र हरियो ज्याकेट।
उनीहरुले हरेक एपिसोडमा एउटै कपडा लगाएपछि यसले दर्शकको ध्यान तान्यो। भ्वाइन फ्रेन्चाइजका अन्य विदेशी शो नहेरेका वा हेरेर पनि यसतर्फ ध्यान नदिएका दर्शकलाई यसले अचम्मित तुल्यायो। केहीले त कोचहरुले कपडा फेर्न नसकेको भनेर खिल्लीसमेत उडाए। यद्यपि कोचहरुले यसरी एउटै कपडा लगाउनुको कारण शोको फम्र्याट हो। यो शोको फम्र्याटअनुसार भ्वाइस अफ नेपालमा आगामी ४ एपिसोडमा पनि कोचहरुले यही कपडा लगाउनेछन्।
ब्लाइण्ड अडिसनसम्म कोचहरुले एउटै ड्रेस लगाउने यो शोको फम्र्याट हो। यसका विदेशी संस्करणहरु भ्वाइस अफ अमेरिका, भ्वाइस अफ इण्डिया लगायतमा पनि कोचहरुले यस्तै गरी एउटै ड्रेस लगाउँछन्। यसबारे प्रमोद खरेलले एक ट्वीटर प्रयोगकर्ताले उठाएको प्रश्नमा जवाफसमेत दिएका छन्। शोको नियम नै यस्तै भएकोले सबै कोचहरुले सधैं एउटै ड्रेस लगाउने गरेका हुन्।
Facebook Comment