सबैभन्दा धेरै टि–२० खेलेका रोहित शर्माले ३२६ खेलपछि बल्ल सुपरओभरमा खाता खोले

काठमाडौं। हिजो न्यूजिल्याण्डविरुद्ध भएको टि–२० मा भारतले न्यूजिल्याण्डलाई सुपरओभरमा पराजित गरेको छ । न्यूजिल्याण्डले दिएको १८ रनको लक्ष्य पच्छ्याएको भारतका लागि रोहित शर्माले ४ बलमा १५ रन बनाए ।
टि–२० अन्तर्राष्ट्रियको इतिहासमा भारतले हिजो बनाएको बिना विकेट नोक्सानी २० रन अहिलेसम्मको सुपरओभरको लक्ष्य पिछा गर्दै बनाएको सबैभन्दा धेरै रन हो । वेष्ट इण्डिजले यसअघि न्यूजिल्याण्डकै विरुद्ध २०१२ मा बिना विकेट क्षति १९ रन बनाएको थियो ।
रोचक त के भने भारतीय खेलाडीहरुमध्ये सबैभन्दा धेरै टि–२० खेलेका ३२ वर्षका रोहित शर्माले हिजो पहिलो पटक सुपरओभरमा खाता खोलेका हुन् । यो रोहितको ३२७ औं टि–२० थियो । रोहितले अहिलेसम्म ४ पटक सुपरओभरमा ब्याटिङ गरेका छन् ।
सुपरओभर खेल्दा रोहित २०१२ मा वेष्ट इण्डिज ‘ए’ विरुद्ध शून्यमा आउट भएका थिए । गुजरात लायन्सविरुद्ध २०१७ मा उनी क्रिजमा भए पनि स्ट्राइक नै पाएनन्, २०१९ मा सनराइजर्स हैदराबादविरुद्ध पनि स्ट्राइक पाएनन् । हिजो न्यूजिल्याण्डविरुद्ध ४ बलमा १५ रन बनाए ।
Facebook Comment