अपरेशन चलिरहेका बेला लाइन गयो, डाक्टरले मोवाइल बालेर मस्तिस्कको सर्जरी गरे
![अपरेशन चलिरहेका बेला लाइन गयो, डाक्टरले मोवाइल बालेर मस्तिस्कको सर्जरी गरे](https://www.dcnepal.com/wp-content/uploads/2020/01/24038022-7943109-image-a-20_1580312585948.jpg)
काठमाडौं। चिलीमा डाक्टरहरुले मोवाइल फोनको टर्च बालेर मस्तिस्कको अपरेशन गरेका छन् । सर्जनहरुले एक बिरामीको मस्तिस्कमा भएको ट्युमर अपरेशन गरेर निकाल्दै गर्दा अचानक लाइन गएको थियो । डाक्टरहरुका अनुसार अपरेशन निकै संवेदनशील अवस्थामा थियो । त्यस्तो बेलामा लाइन आउने प्रतिक्षा गर्न सकिने स्थिति थिएन । डाक्टरहरुले तत्कालै मोवाइल फोनको टर्च प्रयोग गर्ने निर्णय गरे ।
पछि डाक्टरहरुले यसको भिडियो सामाजिक संजालमा जारी गरेका छन् । डाक्टरहरुलाई उद्धृत गर्दै डेलीमेलले लेखेको समाचार अनुसार ३४ वर्षका ती बिरामीको अपरेशन सफल भएको छ । स्वास्थ्य अधिकारी अर्तुरो जुनिगाका अनुसार अस्पतालको लाइन जानेबित्तकै जेनेरेटरको अटोमेटिक सिस्टम सुरु हुनुपर्नेमा प्राविधिक कारणवश त्यस्तो नभएपछि यस्तो समस्या आएको थियो । जुनिगाले यसमा कहाँ कमजोरी भयो भन्नेबारे जाँच भइरहेको बताएका छन् ।
जुनिगाका अनुसार अपरेशन सकिएपछि बिरामीका परिवारलाई यसबारे जानकारी दिइएको थियो । यसका अलावा अस्पतालका स्टाफले पनि कठिन समयमा राम्रो काम गरेको उनले बताए । मिडिया रिपोर्टका अनुसार परिवारले अस्पतालमाथि मुद्दा हाल्ने निर्णय गरेका छन् तर यसको पुष्टि भएको छैन । बिरामीलाई आइसीयूमा राखिएको छ । न्यूरो सर्जनको टिमले भने यो अपरेशन सफलतापूर्वक गरेपछि अरु अपरेशन नगर्ने अडान लिएका छन् । उनीहरुले अस्पताल व्यवस्थापनले फेरि यस्तो स्थिति नआउने सुनिश्चित नगर्दासम्म अपरेशन नगर्ने बताएका हुन् ।
Facebook Comment