क्रिस गेलले एभरेष्ट प्रिमियर लिग खेल्ने पक्का

काठमाडौं। वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले एभरेष्ट प्रिमियर खेल्ने पक्का भएको छ । इपिएलको आगामी संस्करणको लागि उनी पोखरा राइनोजसँग आबद्ध भएका छन् । आज पत्रकार सम्मेलन गरी पोखरा राइनोजले यसको जानकारी दिएको हो ।
यससँगै इपिएलको यो संस्करण निकै रोमाञ्चक हुने भएको छ । ४० वर्षका गेल अहिलेसम्मकै टि–२० इतिहासमा सबैभन्दा विष्फोटक ब्याट्सम्यानको रुपमा चिनिन्छन् । ४०४ टि–२० का ३९६ इनिङमा ब्याटिङ गरेका गेलले कूल १३ हजार २ सय ९६ रन बनाइसकेका छन् । गेलले टि–२० मा मात्र २२ शतक र ८२ अर्धशतक बनाइसकेका छन् । उनले टि–२० मा मात्र १ हजार २६ चौका र ९७८ छक्का हानिसकेका छन् ।
गेल मार्च १२ मा नेपाल आइपुग्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनले इपिएलमा कति खेल खेल्छन् भन्ने निश्चित भइसकेको छैन । इण्डियन प्रिमियर लिगको तालिका आएपछि गेलले कति खेल खेल्ने भन्ने निश्चित हुनेछ । इपिएललगत्तै भारतमा इण्डियन प्रिमियर लिग सुरु हुदैछ । आइपिएल सुरु भएपछि गेल भारत जानेछन् । आइपिएलमा गेल किंग्स ११ पंजाबमा आबद्ध छन् । गेलले इपिएलका सुरुवाती केही खेल खेल्ने बताइएको छ ।
Facebook Comment