राजपा नेपाल सरकारमा सहभागी हुने कुनै सम्भावना छैन : राजपा संयोजक

डिसी नेपाल
१६ माघ २०७६ १५:५५

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्र राय यादवले आफ्नो पार्टी केन्द्रीय सरकारमा जानेबारे कुनै छलफल नभएको बताएका बताएका छन्। उनलेसरकारमा सहभागी हुनेबारे पार्टीमा कुनै छलफल नभएको उल्लेख गर्दै अहिले तत्काल सरकारमा सहभागी हुने संभावना नरहेको बताए।

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले सरकारमा सहभागी हुने कुरा आफूहरुको प्राथमिकता नभएको जिकिर गरे। उनले भने, ‘राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा जानको लागि इच्छुक छैन। तर, हाम्रा माग र मुद्दा सम्बोधन गरियो र एउटा वातावरण सहज बन्यो भने र हाम्रा सबै काम सम्पन्न भए भने हामी त्यतिवेला विचार गर्न सक्छौं। हाम्रा विगतका मुद्दा र मागलाई यो सरकारले सम्बोधन गरोस् । तर, अहिले सरकारमा जाने स्थिति छैन।’

उनले आफ्नो पार्टीले प्रतिनिधिसभाको लागि उपसभामुख नमागेको स्पष्ट पारे। उनले भने, ‘हामीले उपसभामुख हाम्रो पार्टीलाई देउ भनेर मागेका छैनौं । यो सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ ? हामीले बुझ्न सकेका छैनौं।’

सदन र सडक आफूहरुको नीति भएको सुनाउँदै उनले भने,‘मधेशमा भएका सहिदहरुका सपना साकार पार्नको लागि र माग पूरा गराउनको लागि हामीले कुनै पद, सरकार र उपसभामुख हाम्रो माग होइन्। हामी सहिदको रगतमा कुनै सौदाबाजी गर्ने पक्षमा छैनौं।’

वर्तमान सरकारले संविधान संशोधन गर्छ भन्ने कुरामा आफूहरु अझैपनि विश्वस्त रहेको संयोजक यादवको भनाइ छ। ‘संविधान संशोधन गर्छ भनेर नै हामीले यो सरकारलाई यसभन्दा अघि एक वर्षसम्म समर्थन गरेका थियौं। तर, एक वर्षसम्मपनि संशोधन नभएकोले हामीले समर्थन फिर्ता लियौं। हाम्रो अहिलेपनि माग र मुद्दा यथावत छन। ती माग र मुद्दा सम्बोधन नभएसम्म हामी सरकारलाई समर्थन गर्दैनौं। तर, हाम्रा माग पूरा भए समर्थन गर्नेबारे विचार गर्छौं।’

मधेश आन्दोलनका घाईतेहरुको अझैपनि उपचार हुन नसकेको र मुद्दा लागेका कार्यकर्ताहरु फरार रहेको सुनाउँदै उनीहरुको माग पूरा गर्नुपर्ने उनले सुझाए। उनले भने, ‘रेशम चौधरीको मुद्दा राजनीतिक मुद्दा हो। यो मुद्दालाई राजनीतिक रुपमा हल गरिनुपर्छ। हाम्रो पार्टीको विगतको मुद्दा अहिलेसम्मपनि यथावत छ। विगतमा हामीले जुन मुद्दा र मागको लागि यो सरकारलाई समर्थन गरेका थियौं, यो सरकारले त्यहीँबाट प्रक्रिया अगाडि बढाओस्। हामी यो सरकारलाई आवश्यकत्ता ठानेको खण्डमा हाम्रो माग र मुद्दालाई सम्बोधन गरेको अवस्थामा समर्थन दिन तयार छौं।’

यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले एकता हुने विश्वास दिलाए। उनले भने, ‘एकताको लागि हामीले वार्ता कमिटी बनायौं, त्यो कमिटीले काम गरिरहेको छ। अहिलेपनि अनौपचारिक वार्ताहरु भैरहेका छन।’ उनले एकताको लागि धेरै कुरा मिलिसकेको जिकिर गरे। उनले भने, ‘विचार, सिद्धान्त र मूल्यको आधारमा पार्टीको नाम, चुनाव चिन्ह र झण्डामा सहमति भैसकेको छ । तर, नेतृत्व व्यवस्थापनमा अहिले छलफल चलिरहेको छ।’

उनले दुवै पार्टीको बराबर संख्या भएकोले सम्मानजनक नेतृत्व मिलाउने तयारी भएको पनि स्पष्ट पारे। उनले दुई पार्टीबीचको एकता राष्ट्रिय आवश्यकत्ता भएको औंल्याए। उनले भने, ‘हामी दुई पार्टीबीचको एकता राष्ट्रको एकता हुनेछ। र नेपाली जनताको एकता हुनेछ। हिजो मधेशका पार्टीहरुले उठाएका मुद्दाहरु सबै राष्ट्रिय भए, मधेश आन्दोलनका उपलब्धिलाई रक्षा गर्दै र विभिन्न चरणमा हिजोका सरकारसँग गरेका सम्झौता कार्यान्वयन गराउनको लागि पनि देशलाई तेस्रा वैकल्पिक शक्तिको आवश्यकता छ।’

उनले आफूहरुले चाँडोभन्दा चाँडो एकता प्रक्रिया टुँगोमा पुगोस भन्ने चाहेको पनि सुनाए। तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आफूहरुको एकता नचाहेको उनको आरोप लगाए। उनले भने, ‘यी दुवै पार्टीले थ्रेस होल्ड लगाएपछि मधेशवादी पार्टी समाप्त हुन्छ भनेर सोचेका थिए, तर पहिचानको मुद्दा बचाउनको लागि हाम्रो बीचमा एकता आवश्यक छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *