५-० को फराकिलो जीतसँगै बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा, मेस्सीको २ गोल

काठमाडौँ । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ । बार्सिलोनाले लेगानेजलाई ५-० गोल अन्तरले पराजित गर्दै कोपाको क्वाटरफाइनलमा पुगेको हो । बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका थिए । त्यस्तै एन्टोइन ग्रीजम्यान, क्लेमेन्ट लेन्गलेट र अर्थर मेलोले एक एक गोल गरेका थिए ।
बार्सिलोनाले गत शनिबार भलेन्सियासँग ला लिगामा २-० को हारपछि बार्सिलोनाले शानदार पुनरागमन गरेको छ । बार्सिलोनाको जितमा खेलको चौथो मिनेटमा नै ग्रीजम्यानको जितमा शुरुवाती अग्रता लिएको थियो । त्यसपछि लेन्गलेटले २७औ मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा २-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल थपेको थियो । बार्सिलोनाका लागि मेसीले ५९औ तथा ८९औ मिनेटमा गोल गरेका थिए । त्यस्तै अर्थरले ७७औ मिनेटमा गोल गरेका थिए ।
गएराती नै भएको अर्को खेलमा मिराण्डेजले सेभियालाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । योसँगै कोपा डेल रेको क्वाटरफाइनल समीकरण पुरा भएको छ । कोपाको क्वाटरफाइनलमा बार्सिलोना, रियल मड्रिड, एथलेटिको बिलबाओ, भलेन्सिया, भिल्ला रियल, ग्राण्डा, रियल सोसिएडाड र मिराण्डेज पुगेका छन् । अब क्वाटरफाइनलका खेलहरु फेब्रुअरी ४ र ६ मा हुने छन् भने क्वाटरफाइनलको ड्र आज हुदै छ ।
Facebook Comment