२३ बच्चा अपहरण गरेर २३ करोड फिरौती माग्ने अपहरणकारी इन्काउन्टरमा मारिए
![२३ बच्चा अपहरण गरेर २३ करोड फिरौती माग्ने अपहरणकारी इन्काउन्टरमा मारिए](https://www.dcnepal.com/wp-content/uploads/2020/01/Capture-53.jpg)
काठमाडौं। भारतको उत्तर प्रदेशको फर्रुखाबाद जिल्लास्थित मोहम्मदाबाद कस्बेमा २३ बालबालिकालाई बन्धक बनाउने सुभाष बाथमको प्रहरी कारबाहीमा मृत्यु भएको छ । कानपुर परिक्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालका अनुसार अपहरणकारी सुभाषको प्रहरी मुठभेडमा मृत्यु भएको छ भने सबै २३ बालबालिकालाई उद्धार गरिएको छ।
मोहित अग्रवालका अनुसार अपहरणकारीले प्रति बालक एक करोड रुपैयाँ फिरौती माग गरेका थिए । यसका साथै उनले आफूमाथि लागेको हत्याको आरोप पनि फिर्ता लिनुपर्ने माग राखेका थिए । अघिल्लो रात उनले एक बालकलाई रिहा पनि गरेका थिए ।
बन्धक बालबालिकालाई मुक्त गराउन एटीएसको कमाण्डो बोलाइएको थियो । साथै प्रहरीको थुप्रै अधिकारीहरु पनि घटनास्थलमा परिचालन भएका थिए । मोहम्मदाबाद तहसीलको करसिया गाउँमा जुन घरमा बालकलाई बन्धक बनाइएको थियो त्यो घर सुभाष बाथमकै थियो ।
प्रहरीका अनुसार सुभाष बाथम शातिर किसिमका अपराधी थिए र उनी कैयौँ पटक जेल पनि गएका थिए । उनीमाथि हत्याको मुद्दा समेत चलिरहेको छ । स्थानीयका अनुसार आफ्नी छोरीको जन्मदिनको बहानामा उनले गाउँका बच्चाहरुलाई घर बोलाएका थिए । त्यसपछि सुभाषले उनीहरुलाई घरमै बन्धक बनाएका थिए ।
साँझ एक महिला आफ्नो बच्चा लिन आएपछि सबै बालकहरु सुभाषको कब्जामा रहेको थाहा भएको थियो । त्यसपछि मात्रै प्रहरीलाई खबर गरिएको थियो । फर्रुखाबादका प्रहरी अधिकारी डा. अनिल कुमार मिश्रले भने कि प्रहरीको पूरा प्रयास सबै बच्चालाई सकुशल उद्धार गर्नु थियो । यस क्रममा केही प्रहरी भने घाइते भएका छन् । प्रहरीलाई देख्ने बित्तिकै सुभाषले फायरिंग सुरु गरेको र बम प्रहार गरेको प्रहरीको दाबी छ ।
Facebook Comment