कोरोनाभाइरसको त्रासले ७ हजार जनालाई पानीजहाजमै थुनियो
काठमाडौं। कोरोना भाइरसको त्रासका कारण ७ हजार जना पानीजहाजमै थुनिनुपरेको छ । बिहीबार इटलीको एउटा क्रुज पानीजहाजबाट राजधानी रोमनजिकै सिभिटाभेसिया बन्दरगाहमा उत्रिन लागेका उनीहरुलाई पानीजहाजभित्रै थुनिएको हो । जहाजमा सवार यात्रुमध्ये एक जनालाई कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि यात्रुलाई जहाजबाट उत्रिन दिइएको थिएन ।
यद्यपि बिहीबार अबेर राती घण्टौं पछि ती बिरामीलाई देखिएको लक्षण कोरोनाभाइरस नभएको पुष्टि भएपछि उनीहरुलाई जहाजबाट उत्रिन अनुमति दिइयो । जहाजमा ६ हजार यात्रु र १ हजार चालक दलका सदस्य थिए । जहाजमा भएकामध्ये एक महिलालाई कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती बिरामीबाट संकलित नमूना परीक्षणका ल्याबमा पठाइएको थियो । परीक्षणको नतिजा नआउँदासम्म सबै यात्रुलाई जहाजबाट बाहिर निस्कन अनुमति दिइएको थिएन ।
कोस्टा क्रोसिएरे कम्पनीको जहाज कोस्टा स्मेराल्डा २५ जनवरीमा उत्तर पश्चिम इटलीको पोर्ट अफ साभोनाबाट हिँडेको थियो । शंका गरिएकी बिरामी, ५४ वर्षकी चिनियाँ महिला त्यहीँबाट जहाज चढेकी थिइन् । साभोनाबाट हिँडेको कोस्टा स्मेराल्डा फ्रान्सको मार्सेइले, स्पेनको बार्सिलोना, स्पेनकै पाल्मा टापु हुँदै इटलीको सिभिटाभेसिला पुगेको थियो । यहाँ ती महिलालाई फ्लुजस्तै लक्षण देखिएपछि उनलाई उनका पार्टनरसहित क्वारेन्टाइनमा राखिएको थियो ।
Facebook Comment