विप्लवका उपत्यका इञ्चार्ज माइला लामासहित ४ नेतालाई थुनामुक्त गर्न अदालतको आदेश
काठमाडौं। विष्फोटक पदार्थसम्बन्धी अभियोगमा पक्राउ परेका विप्लव समूहका उपत्यका इन्चार्ज माइला लामासहित ४ जना थुनामुक्त भएका छन् । उच्च अदालत पाटनले विप्लवको नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा उपत्यकाका ब्युरो इञ्चार्ज माइला लामालगायत चार नेतालाई थुनामुक्त गर्ने आदेश दिएको हो ।
उच्च अदालतमा मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार लामासहित भृकुटी भन्ने धिरिन्द्रा कुमारी उपाध्याय, ईश्वर परियार, हितमान भन्ने नविन विश्वकर्मालाई थुनामुक्त गर्ने आदेश गरेको हो । उक्त इजलासले अर्का नेता हेमन्त प्रकाश ओलीसहित लोकेन्द्र कुमार खड्का, बुद्धबहादुर सिंताङ, शिव धिमाल, डिकेन्द्र राई, सूर्य भुजेल र दोर्ची शेर्पालाई भने थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न भनेको अदालतका प्रवक्त उप रजिष्ट्रार शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
ओली सहितका नेतालाई एनसेलको केन्द्रीय कार्यालयमा वम विष्फोट गराइ एक जनाको हत्या गरेको आरोप छ । उनीहरूको साथबाट हातहतियार बरामद भएको, राई, भुजेल र शेर्पालाई एनसेलका बडिगार्डहरूले विष्फोट गराएको भन्दै सनाखत गरेको आधारमा थुनामै राख्ने आदेश गरेको हो ।
उनीहरूमाथि काठमाडौं लगायतका विभिन्न ठाउँमा बम विष्फोट गराएको, ज्यानमार्ने कसूर गरेको र राज्य विरूद्धको अपराध गरेको भन्दै मुद्दा चलाइएको थियो । ललितपुर जिल्ला अदालतले सबैलाई विभिन्न समयमा थुनामा पठाउने आदेश गरेको हो । जिल्लाको आदेश बदर गराउन सबै जना उच्च अदालत गएका थिए । तीमध्ये लामासहित चार जनालाई थुनामा राख्न नपर्ने उच्च अदालतको आदेशमा उल्लेख छ ।
Facebook Comment