मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
मछिन्द्रको जितमा विशाल राई बी र रञ्जित धिमालले एक एक गोल गरे । एपीएफका रमेश दंगालले एक गोल गरे । खेलमा सुरुवाती अग्रता उल्टाएर मछिन्द्रले जित निकालको हो ।
रोमान्चक बनेको खेलको ४३ औं मिनेटमा रमेशको गोलबाट एपीएफले अग्रता बनाएको थियो । राजिब लोप्चनलाई पिटर सेगुनले लडाएपछि पाएको फ्रिकिकमा रमेशले हेड गोल गरेका थिए ।
दोस्रो हाफमा भने मछिन्द्र खेलमा फर्कियो । खेलको ४८ औं मिनेटमा विशालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । रञ्जित धिमालको कर्नरमा विशालले सुन्दर गोल गरेका थिए ।
त्यसपछि खेलको ८० औं मिनेटमा मछिन्द्रले पेनाल्टी प्राप्त गर्यो । डिफेन्डर पिटर सेगुनलाई एपीएफका खेलाडीले डिबक्सभित्र फउल गरेपछि रेफ्रीले मछिन्द्रलाई पेनाल्टी दिएका थिए । तर, रञ्जितले पेनाल्टीमा गोल गर्न सकेनन् ।
पहिलो प्रहार एपीएफका गोलरक्षक राजु योगीले बचाएपछि आएको रिबाउण्डमा रञ्जितले गोल गरे । जुन गोल मछिन्द्रको जितमा निर्णायक बन्यो । खेलमा मछिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दि म्याच चुनिए ।
जितसँगै मछिन्द्रले १० खेलमा २२ अंक जोडेको छ । र, मछिन्द्रले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबमाथि २ अंकको अग्रता बनाएको छ । ९ खेलमा आर्मीको २० अंक रहेको छ । एपीएफ १० खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
Facebook Comment