नेपाली व्यापारीद्वारा चीनलाई १२ हजार मास्क सहयोग
काठमाडौं । नेपाली व्यापारीहरुले चीनलाई १२ हजार मास्क सहयोग गरेका छन् । नेपाल—चीन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले चाइना तिब्बत चेम्बर अफ बोर्डर ट्रेडमार्फत उक्त सहयोग गरेको हो ।
चीनमा फैलिएको नोवल कोरोना भाइरसका कारण सुरक्षाका लागि मास्कको माग बढ्दो छ । चीनमा मास्क अभाव भएपछि सहयोग गरिएको संस्थाले जनाएको छ ।
नेपाल–चीन चेम्बर संग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवर्द्धनका लागि सहकार्य गर्दै आइरहेको जनाएको छ ।
चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि अहिले त्यहाँ मास्क अभाव भएको छ । चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस अहिले देशका सबै राज्यमा देखिइसकेको छ । संकटको अवस्थामा केही भए पनि राहत हुने उद्देश्यले नेपालबाट पनि मास्क पठाउन थालिएको हो ।
कोरोनाको महामारीपछि चीनको वुहान लगायतका स्थानमा यात्रा प्रतिबन्धित समेत गरिएको छ भने विभिन्न देशले त्यहाँ रहेका आफ्ना नागरिकलाई स्वदेश लगेको छ । नेपालले पनि त्यहाँ बसोबास गर्ने आफ्ना नागरिकलाई फिर्ता ल्याउने तयरी थालेको छ । चीनले वुहानमा कोरोना संक्रमणको उपचारका लागि १० दिनमा अस्पताल नै बनाएको छ ।
कोरोनाभाइरसबाट अहिलसम्म १८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यसको ९८ प्रतिशत संक्रमितहरु चीनमा मात्र छन् । यसका कारण अहिलेसम्म ३६२ जनाले ज्यान गुमाइसकेका छन् । बढिरहेका बिरामीलाई मध्यनजर गर्दै चीनले वुहान शहरमा ८ दिन पहिले १ हजार शय्याको विशेष अस्पताल बनाउन सुरु गरेको थियो जुन अस्पताल अहिले बनेर तयार भएको छ ।
Facebook Comment