चीनसँगको हवाई सम्बन्ध संकुचित हुँदै
काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनमा रहस्यमयी कोराना भाइरसले महामारीको रुप लिएपछि नेपाल र चीनबीचको हवाई सम्बन्ध केही दिनका लागि स्थगित हुने देखिएको छ।
नेपालबाट चीनका विभिन्न शहरमा उडान गर्ने हिमालय एयरले आफनो उडान स्थगित भएको जनाएको छ। एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो। कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको जानकारी दिए।
यस्तै चीनबाट नेपालमा हुने उडानहरु पनि स्थगित भएका छन्। नेपाल उडान गर्दै आएका प्रमुख चिनियाँ वायुसेवाले नेपाल उडान फेब्रुअरी ४ देखि फेब्रुअरी २८ तारिखसम्मका लागि स्थगित गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीलाई हवला दिँदै बीबीसी न्यूजले जनाएको छ।
प्रवक्ता क्षेत्रीले यात्रुको संख्या घटेपछि चाइना सदर्न र एअर चाइनाले फेब्रुअरी ४ देखि फेब्रुअरी २८ तारिखसम्मका आफ्ना उडान स्थगित गर्न लागेको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
टिबेट एअर र सिचुआन एअरलाइन्सले पनि काठमाडौं उडान गर्दै आएका छन्। अहिलेको अवस्था अन्योलपूर्ण भए पनि ती वायुसेवाले आफ्नो उडान योजनाबारे अझै जानकारी दिइनसकेको जनाइएको छ।
कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ३६१ जनाको ज्यान गइसकेको छ भने १७,००० भन्दा बढी संक्रमित भएको पुष्टि भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
नेपालको अध्यागमन विभागका अनुसार चीनमा भाइरस संक्रममण बढेसँगै नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्यामा पनि कमी आएको छ। जनवरीमा झन्डै १४,००० चिनियाँ नेपाल आएका थिए।
गत साता त्रिभुवन विमानस्थलबाट हुने चिनियाँ आगमन निकै कम भएको थियो। विभागका अनुसार जनवरी २७ मा १९५ चिनियाँ नेपाल आइपुगेका थिए। जनवरी २८ मा त्यो संख्या १७४ मा झरेको छ।
फेब्रुअरी १ तारिखमा १५९ चिनियाँ आएका थिए भने २ तारिखमा १७७ जना चिनियाँ त्रिभुवन विमानस्थलबाट भित्रिएको विभागको भनाइ छ।
चीन बाहेक अन्य देशबाट नेपालमा हुने उडान र यात्रु आगमन भने सामान्य नै रहेको प्राधिकरणको भनाइ छ।
Facebook Comment