अभ्यास खेलमा नेपाल–११ को जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को लागि नेपाल आएको अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ ले जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल प्रेसिडेन्ट–११ ले अमेरिकालाई ३७ रनले हराएको हो ।
नेपालले दिएको १ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ३२ ओभर २ बलमा अलआउट हुँदै ७४ रनमा समेटियो ।
अमेरिकाका लागि स्टेभेन टेलरले २८ रन बनाए । यस्तै तिमिल पटेलले २० रन जोडे । नेपाल–११ का सागर ढकालले ३ विकेट लिए । भुवन कार्की र पवन सर्राफले २–२ विकेट लिए ।
यस अघि सुवास खकुरेलले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपछि नेपाल–११ ले ३३ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । ८९ बलमा ५ चौकासहित सुवास ५२ रनमा अविजित रहे ।
यस्तै नेपाल–११ का लागि पवन सर्राफले १९ रन बनाए । अमेरिकाका रुस्ती थोरण र सौरभ नेत्रभालकरले २–२ विकेट लिए ।
Facebook Comment