ढोरपाटन महिला भलिबलः एपीएफको दोहोरो जित

काठमाडौं । उपाधि दावेदार विभागीय नेपाल एपीएफ क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ ।
अपराजित रहेको एपीएफले पारामाउन्ट स्कुललाई तथा दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि सहज जित निकाल्दै दोहोरो जित हात पारेको हो ।
पहिलो खेलमा पारामाउन्टमाथि २५–५, २५–१८ र २५–६ को सहज जित निकालेको एपीएफले दोस्रो खेलमा आयोजक ढोरपाटनमाथि २५–६, २५–८ र २५–५ को सहज जित हात पा¥यो । दोहोरो जितसँगै एपीएफले ७ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा पकड बनाएको छ ।
दोस्रो स्थानको पुलिसको ६ खेलबाट १६ अंक रहेको छ । अपराजित रहेको पुलिसले मंगलबारै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा जित हात पारेको थियो । पुलिसले आर्मीलाई २५–२२, २५–२१, २०–२५ र २५–२२ को सेटमा हराएको थियो । आर्मीको ५ खेलबाट ९ अंक छ ।
यस्तै तीन इरानी खेलाडी समेटेको चितवन टाइगर्सले शतप्रतिशत जितलाई निरन्तरता दिदा चुली युवा क्लबमाथि २५–९, २५–११ र २५–११ को सहज जित हात पारेको छ । चितवनको यो लगातार तेस्रो जित हो । चितवनको ३ खेलबाट ९ अंक पुगेको छ ।
यस्तै पारामाउन्टले लिगमा पहिलो जित हात पार्ने क्रममा सेवमाथि २५–२३, २५–२३ र २५–१९ को सहज जित निकालेको छ । पारामाउन्टले ८ खेलबाट ३ अंक जोडेको छ । ७ खेल खेलेको सेव र ६ खेल खेलेको चुलीले अंक जोड्न सकेको छैन।
Facebook Comment