आइसीसी विश्वकप लिग–२ को तयारी पूरा, के भन्छन् कप्तान?

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग– दुईको तयारी पूरा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बुधबारदेखि शुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
राजधानीमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारी पूरा भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । विभिन्न चुनौतीका बाबजुदसमेत प्रतियोगिता सञ्चालन गर्न गइरहेको उनको भनाइ थियो । आइसीसीले निलम्बन फुकुवा गरेको छोटो समयमा मेहनतका साथ सिरिज आयोजना गर्न लागेको अध्यक्ष चन्दले बताए । मुख्य प्रशिक्षक उमेश पटवालको राजीनामाका कारण नेपालको खेलमा कुनै असर नपर्ने उनले उल्लेख गरे ।
क्यानका महासचिव अशोकनाथ प्याकुरेलले प्रतियोगिताका लागि सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनले प्रतियोगिता व्यवस्थित तरिकाले सञ्चालन गर्न कुनै कसुर बाँकी नराख्ने बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गर्ने प्याकुरेलले उल्लेख गरे। मुख्य प्रशिक्षक पटवालको राजीनामाबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) र राष्ट्रिय खेलकूद परिषद् बोल्नुपर्ने उनको भनाइ थियो । क्यान निलम्बनमा रहेको बेला राखेपले पटवाललाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । नेपालले एक दिवसीय मान्यता पाएको दुई वर्षपछि घरेलु मैदानमा पहिलो सिरिज खेल्न लागेको हो । नेपालले बुधबार उद्घाटन खेल ओमानसित खेल्दैछ ।
सिरिज जित्ने तीनै कप्तानको लक्ष्य
पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाका कप्तानले विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज जित्ने लक्ष्य रहेको बताए । उनिहरुले आफ्नो टोली बलियो रहेको दाबी गरे । कीर्तिपुरस्थित मैदानमा हुने उक्त सिरिजमा शत प्रतिशत नतिजा निकाल्ने आफ्नो टोलीको लक्ष्य हुने नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् । घरेलु मैदान र दर्शकको फाइदा नेपालले लिने उनको भनाइ थियो । पोखरामा सञ्चालन गरिएको बन्द प्रशिक्षणबाट बढी ऊर्जा मिलेको उनि बताउँछन् । कप्तान मल्लले मुख्य प्रशिक्षक पटवालको राजीनामालाई बिर्सेर नेपाली टोली मैदानमा उत्रिने बताए । यसैगरी ओमान र अमेरिकाका कप्तानले समेत उक्त सिरिज आफूले जित्ने दाबी गरे ।
Facebook Comment